काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी दिएका छन्।
जसमध्ये ३० वर्षमुनिका १९५ जना युवा उम्मेदवारहरू छन्। ६८ वर्षदेखि माथि उमेरका १२० जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। जसमध्ये आठ जना शीर्ष नेता नै यसपटक आफूभन्दा दोब्बर कम उमेरका युवा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।
यस्ता शीर्ष नेतामध्य हुन् एमालेका नेता तथा पूर्व सभामुख सुवाचन्द्र नेम्वाङ। हाल ६९ वर्ष पुगेका नेम्वाङ इलाम २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। उनीसँग ३० वर्षीय युवा उम्मेदवार प्रकाश सापकोटाले प्रतिस्पर्धा गर्दैछन्। सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।
यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने दाउका साथ झापा ५ बाट प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। उनको क्षेत्रमा २५ वर्षीय युवा तिर्थेश्वर चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यी दुई उम्मेदवारबीच करिब ४५ वर्षको उमेर अन्तर छ।
यस्तै मोरङ २ मा नेपाली कांग्रेसको नेतृ सुजाता कोइराला गठबन्धनबाट उम्मेदवार बनेकी छन्। ६८ वर्षीया कोइरालासँग प्रतिस्पर्धा गर्न २५ वर्षीय युवा सुनिलकुमार शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
मोरङ ६ बाटै उम्मेदवारी दिएका अर्का नेता हुन् डा शेखर कोइराला। उनको क्षेत्रमा पनि २७ वर्षीय युवा सुशील खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यस्तै ८० वर्षीय महन्थ ठाकुर यसपटक पनि प्रतिनिधि सभाका लागि महोत्तरी ३ बाट उम्मेदवार बनेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षसमेत रहेका ठाकुरको क्षेत्रमा दुई युवाले पनि उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवार २९ वर्षीय सर्विन्द्र यादव र ३० वर्षीय इन्द्रजितकुमार यादवसँग ठाकुरले प्रतिस्पर्धा गर्नेछन्।
सर्लाही २ मा नेकपा माओवादीका ८५ वर्षीय नेता महिन्द्र राय यादव छन्। उनले युवा नेता स्वतन्त्रका उम्मेदवार २७ वर्षीय श्रवण साह र २८ वर्षीय सतिसकुमार चौधरीसँग प्रतिस्पर्धा गर्नेछन्।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ६९ वर्ष पुगिसकेका छन्। उनी यसपटक पनि रौतहट १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्।
उनले युवा नेता राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका मिस्टर सुर्यदेवप्र कोइराला, स्वतन्त्र उम्मेदवार २५ वर्षीय राहुलकुमार मिश्र, ३० वर्षीय मोहम्मद जिउल हक र नेपाल सुशासन पार्टीका २८ वर्षीय रञ्जितकुमार पटेलसँग प्रतिस्पर्धा गर्नेछन्।
यस्तै पाका नेतामध्ये नेकपा एमालेका ईश्वर पोखरेल पनि हुन्। ६८ वर्षीय पोखरेल सधैंझै यसपाली पनि काठमाडौं–५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्। उनले यसअघि जितेको क्षेत्र पनि हो। गत निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसपटक उनीसँग स्वतन्त्र उम्मेदवार २७ वर्षीया रन्जु न्यौपानेले प्रतिस्पर्धा गर्दैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।