काठमाडौं- आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १२ जना व्यवसायी तथा ठेकेदारले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ७ जनाले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्।
अर्बपति व्यवसायी विनोद चौधरीले कांग्रेसका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। चौधरी यसअघि समानुपातिक सांसद थिए।
चौधरी ग्रुपका मालिक चौधरी पछिल्लो समय राजनीतिमा निकै सक्रिय रहँदै आएका छन्। उनले नेपाल लगायत विश्वका विभिन्न देशमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन्।
व्यवसायी उमेश श्रेष्ठ चितवन- २ बाट उम्मेदवार बनेका छन्। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत हुन्।
सुरुवातमा शिक्षा व्यवसायी भएर ‘नाम र प्रसिद्धि’ कमाएका श्रेष्ठले पछिल्लो समयमा भने धेरै क्षेत्रमा लगानी गरेका छन्। जलविद्युत, पर्यटन र अस्पताल क्षेत्रमा उनको लगानी रहेको छ।
यस्तै मोहन आचार्यले रसुवाबाट उम्मेदवारी दिएका छन्। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका आचार्य यसअघि पनि सांसद थिए। सिभिल इन्जीनियर पढेका उनी निर्माण व्यवसायी हुन्। उनले विभिन्न आयोजनाको काम ठेक्का लिने गरेका छन्।
मेडिकल व्यवसायी डा सुनिल शर्मा मोरङ निर्वाचन- ३ बाट उम्मेदवार बनेका छन्। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका शर्मा यसअघिको निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका थिए। उनी नोबेल हस्पिटल र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्।
निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट उम्मेदवार बनेका छन्। तामाङ कांग्रेस रामेछापका सभापति समेत हुन्। उनी यसअघि पनि उम्मेदवार बनेका थिए।
व्यवसायी दीपक खड्काले संखुवासभाबाट उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस संखुवासभाका सभापति समेत रहेका खड्का यसअघिको निर्वाचनमा पनि उम्मेदवार थिए। उनी घरजग्गा व्यवसायमा बढी संलग्न रहेको पाइन्छ।
पर्यटन व्यवसायी राजेन्द्र बजगाईं गोरखा निर्वाचन- १ बाट उम्मेदवार बनेका छन्। कांग्रेसका तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। बजगाईं यसअघिको निर्वाचनमा पनि उम्मेदार बनेर पराजित भएका थिए।
प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट दुई जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन्। व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाबाट उम्मेदवारी दर्ता गराएका छन्। शिवाकोटी प्रतिनिधि सभाका लागि नयाँ अनुहार हुन्। उनी निर्माण व्यवसायी हुन्। उनले आयोजनाहरु ठेक्कामा लिएर काम गर्ने गरेका छन्।
वैदेशिक रोजगार व्यवसायी एलपी साँवा लिम्बुले झापा- ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका साँवा यसअघि पनि सांसद थिए। उनी नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष पनि हुन्।
एकीकृत समाजवादीका तर्फका एक व्यवसायीले उम्मेदवारी दिएका छन्। समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा- ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्। विभिन्न व्यवसायमा आवद्ध श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बनिसकेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट एक जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन्। निर्माण व्यवसायी विक्रम पाण्डे चितवन- ३ बाट उम्मेदवार बनेका छन्।
राप्रपाका तर्फबाट उम्मेदवार बनेका पाण्डे यसअघि पनि निर्वाचन लडेर पराजित भएका थिए। उनले आयोजनाहरु ठेक्कामा लिएर काम गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।