काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरु ठूला नेताहरुको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन्।
सोमबार ७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो आरोप लगाएका हुन्। उनले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठूला नेताहरुले दबाब दिने गरेको बताए।
उनले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रिपरिषद्मा पुर्याउँदासमेत अजेण्डा नबनेको गुनासो गरे। मन्त्री कुँवरले श्रम आयोग गठन गर्नेकुरा तीन पटक मन्त्रिपरिषद्मा पठाए पनि अजेण्डा नबनाइ अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे।
उनले आर्थिक वर्ष २०७८/०७९ मा श्रम प्रतिष्ठान बनाउने कुरा राखिएकाले अहिले श्रम आयोग गठन गर्न समस्या सिर्जना भइरहेको बताए। उनले अर्थ मन्त्रालयले यस बारेमा स्वीकृति जनाउने हो भने श्रम प्रतिष्ठान खारेज गरेर श्रम आायेग गर्न समय नलाग्ने बताए।
मन्त्री कुँवरले कतिपय जनता सम्बन्धित कानुनहरु संसद्मा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दाबी गरे। उनले अर्थमन्त्री श्रम आयोग गठनका लागि तयार भए १० दिनभित्र नै श्रम आयोग गठन गर्ने ल्याकत मन्त्रालयले राखेको बताए। उनले सीप प्रतिष्ठान गठन गर्नेकुरा हालसम्म पनि मन्त्रिपरिषद्ले स्वीकार्न नसकेको बताए।
मन्त्री कुँवरले मन्त्रालयले असंगठित, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने तयारी गरिरहेको पनि बताए। उनले आफ्नो कार्यकालमा नै यस विषयलाई टुंगोमा पुर्याउने दाबीसमेत गरे।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायराभित्र वैदेशिक रोजगारका श्रमिकहरुलाई पनि ल्याउनसके सामाजिक सुरक्षा कोषले गति लिने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।