काठमाडौं– वातावरणविद् डा अरनिको पाण्डेले गत साउन ५ गते सामाजिक सञ्जाल फेसबुकमार्फत् घोषणा गरे- आउँदो संघीय चुनावमा ललितपुर- ३ बाट स्वतन्त्र उम्मेदवारी। सोही दिन उनले ‘अरनिकोको उम्मेदवारी किन?’ भन्दै ६ बुँदे अजेन्डा पनि अघि सारेका थिए। पाण्डेको चर्चा पनि सोहीअनुसार बढ्दै गयो।
डेढ महिना यसैगरी बित्यो। गत भदौ २३ गते उनले फेसबुकबाटै आफू रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको सार्वजनिक गरे। ‘तपाईंहरु कोहीलाई रविजी मन नपर्ला, उहाँको काम गर्ने शैली मन नपर्ला, वा सुरूमै व्यक्तिले पार्टी सुरु गरेको देखिएको मन नपर्ला,’ उनले फेसबुकमा लेखे, ‘तर म जस्तो, भर्खर राजनीतिमा छिरेको, पुराना पार्टीहरुमा परिवर्तन ल्याउने पदमा जान नसक्नेलाई रास्वपाले नै सबैभन्दा राम्रो मौका दिएको छ- एकातिर आफ्नो कुरा देशव्यापी रूपमा लैजान र अर्कोतिर नयाँ पार्टीको संरचना बनाउने क्रममा नै सहभागी हुन।’
लामिछानेको दर्शक तान्ने शक्तिलाई आफ्नो विचार र विश्लेषणसँग मेल गराउँदा आउने चुनावमा धेरै सफलता हासिल गर्न सकिन्छ भनेर आफू निर्धक्क रहेको उनको भनाइ छ। सोही स्टाटसअनुसार, रास्वपाको घोषणापत्र तयारी पाण्डेको जिम्मामा हुनेछ।
स्वतन्त्र उम्मेदवारको तयारी थालेका एक उम्मेदवारले एउटा पार्टी, जसका अजेन्डा प्रष्ट भइसकेका छैनन्, संविधानका प्रमुख प्रावधानदेखि जल्दोबल्दो पछिल्ला मुद्दाहरुमा उसका धारणा के हुन् भन्ने प्रष्ट छैनन्, त्यस्तो पार्टीलाई व्यापक ठानेको देखिन्छ।
पाण्डेको हकमा मात्रै होइन, धेरैलाई ‘निर्वाचन आउनु कहिलेकहिले, उम्मेदवार घोषणा अहिले’ भनेजस्तै भयो यसपटक। गत वैशाखको स्थानीय तहको निर्वाचनमा तीन प्रमुख पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारहरुले जित निकाले, काठमाडौंमा बालेन शाह, धरानमा हर्क साङ्पाङ र धनगढीमा गोपाल हमालले। त्यसपछि प्रतिनिधि सभालाई नै लक्षित गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको देखिन्छ। कतिपयले चुनाव घोषणा नहुँदै उम्मेदवारी घोषणा गरिसकेका थिए। तिनैमध्येका एक हुन्, पुकार बम। उज्ज्वल थापासँगै अभियन्ताको रुपमा अघि बढेका उनले जेठमै उम्मेदवारी घोषणा गरेका थिए। तर पछिल्लो समय उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्।
समाजमा कुनै न कुनै रुपमा चिनिएकाहरु प्रतिनिधि सभा सदस्य बन्नका लागि उम्मेदवारी घोषणा गर्ने क्रम महिनौँ अघिदेखि आरम्भ भएको देखिन्थ्यो। त्यस्तो घोषणाको साझा विशेषता थियो, स्वतन्त्र उम्मेदवारी। कतिपयले सामाजिक सञ्जालबाट प्रचारप्रसारलाई पनि तीव्र बनाए। धेरैले सकारात्मक प्रतिक्रिया र सहयोगको आश्वासन पनि पाए। कतिपय अझै स्वतन्त्र उम्मेदवार बन्ने प्रयत्नमै छन्, कैयौँ भने पाण्डे र बमको जस्तै उपाय अपनाएका छन्।
स्वतन्त्र उम्मेदवारी घोषणाको लहरले एक किसिमको माहौल सिर्जना गरिरहेको अवस्थामा पूर्वपत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नै गठन गरे। स्वतन्त्र उम्मेदवारहरुलाई पार्टीमा जोड्ने र समानुपातिक मत एकीकृत गर्ने उनको लक्ष्य देखिन्छ। त्यसको प्रभाव पनि देखिँदै गएको छ।
विवेकशील साझा पार्टीका अब्दुस मियाले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। उनले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवार बन्ने भन्दै तयारी थालेका थिए, प्रचार पनि गरिरहेका थिए। तर, असोज ६ गते एमाले प्रवेश गरे।
पाण्डेदेखि मियासम्मको उदाहरणले स्वतन्त्र उम्मेदवारको राजनीतिको कमजोर सुझबुझ र उच्च महत्त्वाकांक्षा देखाउँछ। जसले उनीहरुको स्वतन्त्र उम्मेदवारी घोषणा केवल चर्चामा आउने रणनीति मात्रै हो भन्ने देखाउँछ। त्यस्तो चर्चाले अन्य पार्टी प्रवेशमा सहज भइरहेको आकलन गर्न सकिन्छ।
स्वतन्त्रको लहर किन?
निर्वाचनका बेलामा फाट्टफुट्ट स्वतन्त्र उम्मेदवार उठ्ने क्रम पहिल्यैदेखि हो। पछिल्ला निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारहरुको संख्यामा बढोत्तरी आएको पाइन्छ। किन त? राजनीतिक विश्लेषकहरुले यसलाई विभिन्न पाटाबाट विश्लेषण गर्ने गरेका छन्।
राजनीतिलाई धेरै ‘ग्लामरस’ बनाइएका कारण पनि विभिन्न पेसा र व्यवसायमा रहेर पैसा कमाएका मान्छेहरुको प्रवेश बढेको बताउँछन्, राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल। ‘विभिन्न तरिकाले पैसा कमाएका मान्छेहरुलाई आफ्नो व्यवसायिक ग्लामरभन्दा राजनीतिको ग्लामर माथिको हो भन्ने लाग्छ,’ उनले भने।
आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका र राजनीतिसँग जोडिन चाहनेहरुलाई पार्टीले सहजै पत्याउने र उम्मेदवार बनाउने प्रचलन छैन। त्यहीमाथि अहिले गठबन्धन र तालमेलका विषय पनि छन्। अर्को पार्टीबाट आफ्नोमा भित्र्याउने र टिकट दिने रणनीतिले पनि तीव्रता पाएको छ। जसले गर्दा पार्टीका पुरानै नेता/कार्यकर्ताले नै टिकट पाउने सम्भावना कम हुन्छ, अन्यलाई झन् कठिन हुने भइहाल्यो।
‘आफैं लागेको पार्टीमा पनि सीमित सिटमा मात्रै उठ्न पाउने व्यवस्था भयो। जस्तो अहिले गठबन्धनका दलबीच तालमेल हुँदैछ। प्रतिनिधि सभाका १६५ सिटमध्ये दलहरुले केही सीमिति सिटमा मात्रै उम्मेदवारी दिने परिस्थिति बनेको छ। स्पेस नपाएपछि के गर्ने त? यही सन्दर्भमा पनि स्वतन्त्र उम्मेदवारको चर्चा सुनिएको छ,’ प्याकुरेल भन्छन्, ‘अहिले जिल्लातिर हिजो कुनै न कुनै रुपले राजनीतिसँग जोडिएका र राजनीतिलाई कर्म बनाउँछु भन्नेहरु नै स्वतन्त्रको रुपमा आएका छन्।’
अर्कोतिर, विभिन्न पेशामा रहेर वर्षौंसम्म समाजमा घुलमिल भएको र आर्थिक रुपमा पनि सम्पन्न भएकाहरुले पनि राजनीतिलाई सुरक्षित भविष्य देखेको पाइन्छ। यसमा वैध तरिकाले काम गरेकाहरु मात्रै होइन, अवैध तरिकाले काम गरेर हैसियत बढाएका, तर त्यसप्रति असुरक्षा महसुस गरेकाहरु पनि पर्छन्। बदनाम, तर प्रभावशाली व्यक्तिहरु पनि पर्छन्। त्यस्ताको पहिलो रोजाइ प्रभावशाली पार्टी प्रवेश नै हुने गरेको छ। जसले विभिन्न कोणबाट सुरक्षा दिने गर्छ। नभए पनि राजनीतिमा छिर्ने बाटोको रुपमा स्वतन्त्र उम्मेदवारीलाई लिने गरेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।