धनगढी– त्रिपालभित्र काठको खटिया छ। खटियाभित्र केही थान लत्ताकपडा, छेउछाउमा घरभित्र पाल्न राखेका कुखुरा, बाख्रा छन्। दिउँसोको समयमा केटाकेटीहरुलाई कापी समात्न लगाएर पढ्न अह्राइरहेकी थिइन् भजनी नगरपालिका–५ की रितादेवी कामी।
बालबच्चाका शरीरभरी कपडा पनि थिएनन्। आफ्ना बालबच्चाको स्वास्थ्यका लागि चिन्तित छिन् रिता। वर्षातका बेला तराईमा कालाजार, मलेरिया, डेंगुलगायतका किटजन्य रोगको संक्रमण हुने जोखिम हुन्छ। यस्ता रोगबाट बच्न झुल अत्यावश्यक हो। तर, रितासँग आफ्ना सन्तान र आफू स्वयंलाई सुरक्षित राख्न झुलसमेत छैन।
‘त्रिपालभित्र सुत्दा राति लामखुट्टेले सताउँछन्,’ उनी भन्छिन्, ‘सडकमा बस्दा खानाको व्यवस्था गर्न त समस्या रहेको छ। झुल कहाँबाट ल्याउनु?’
यसपाली बाढी आएपछि मात्र होइन, यस क्षेत्रका अधिकांश परिवार बर्खा लाग्नेबित्तिकै सडकमा पुग्छन्। हरेक वर्ष सामान्य वर्षा हुँदासमेत घरभित्र पानी पस्ने र बस्न नमिल्ने भएका कारण सडक छेउमा त्रिपाल टाँगेर बस्नुपर्ने रितादेवी बताउँछिन्।
बस्तीमा पानी जम्दा सुरक्षित बसोबासका लागि वर्षा नसकिएसम्म हुलाकी सडकमै बस्ने गरेको उनको भनाइ छ। ‘सडक उच्च छ। पारीबाट कान्द्रा नदी बस्तीमा पस्छ,’ उनले भनिन् ‘सामान्य वर्षाले पनि बस्तीमा बसोबास गरिरहेका मानिसको उठिबास गराउँछ। अनि यही सडक सारथी बन्छ।’
असार १ गतेदेखि सडकमै बसिरहेकी उनी असोज महिना नसकिएसम्म घरभित्र बस्न सक्ने अवस्था नरहेको बताउँछिन्। डोटीको बर्छेनबाट उनका बाजेहरु बाढीबाट विस्थापित भइ उक्त स्थानमा आएर बसोबास गर्दै आएका थिए।
उनले भनिन्, ‘बाजेहरु डोटीमा वर्षातकै कारण आएको पहिरोले विस्थापित भएपछि यहाँ आएर बसोबास गरेका हुन्। यहाँ पनि वर्षातमा घरभित्र बस्न सक्ने अवस्था भएन।’ उनले हरेक वर्ष सरकारका प्रतिनिधि, संघ÷संस्थाहरु गुनासो सुन्नका लागि मात्र आउने गरेको बताइन्।
उनले भनिन्, ‘झन्डै सात वर्षदेखि हामीले वर्षातमा यही त्रिपालमा बस्नुपर्ने बाध्यता छ। सरकारका निकायहरु अनुगमन गर्न आउँछन्। गुनासो सुन्छन्। तर, समस्याको समाधानतर्फ पहल कसैले गर्दैनन्।’
भदौ ३० देखि असोज १ गतेसम्म परेको अविरल वर्षाले उनको घर डुबानमा परेको थियो। शुक्रबारसम्म सो घरभित्र गएर बस्न सक्ने अवस्था थिएन। उनले भनिन्, ‘तीन महिनादेखि हामी सडकमा आएर बसिरहेका छौं। घरभित्र राखेका अन्नपात सबै बाढीले सखाप पारेको छ।’
हरेक वर्षायाममा कान्द्रा नदीमा आउने बाढीका कारण बस्ती नै डुबानमा पर्ने गर्छ। यो वर्ष पनि बस्ती पूर्णरुपले डुबानमा परेपछि उनीहरू हुलाकी सडकमा त्रिपाल टाँगेर बस्न थालेको लालबहादुर विक बताउँछन्। उनी भन्छन्, ‘त्रिपाल लगाएर सडकमा बस्न कसलाई मन हुन्छ र? सामान्य वर्षा हुँदा पनि घर डुबानमा पर्छ। बालबच्चाको हेरचाह गर्न पनि समस्या हुन्छ।’
बस्तीमा बाढी पसेपछि घरमा रहेका लत्ताकपडा, खाद्यान्न र चौपाया सबै बगाएको उनले दुखेसो पोखे। उनले सडकमा बस्दा स्वच्छ खानेपानी, खाद्यान्नलगायतको अभाव झेल्नु परेको बताए। उनी भन्छन्, ‘खुला सडक छेउमा वन्यजन्तुको त्रास छ। बत्ती नहुँदा स्कुले बालबालिकालाई पढ्न समस्या भइरहेको छ। हामीलाई सुरक्षित स्थानमा बसोबास गराउन कसैले ध्यान दिएका छैन।’
असार १ गतेदेखि नै वर्षा सुरु हुन थालेपछि सडकमा बस्न थालेको रतन कामी बताउँछन्। हरेक वर्ष तीन महिनाजति सडकमै बित्ने गरेको उनको भनाइ छ। ‘थोरै वर्षा हुँदा पनि घर छाड्नुपर्छ। तीन महिनादेखि सडकमै छौं,’ उनी भन्छन्, ‘हामी बस्तीलाई बाढीबाट सुरक्षित बनाउन कसैले ध्यान दिएका छैनन्। कति ठाउँमा गुनासो गरिसक्यौं।’
बाढी पस्दा यसपाली उक्त गाउँका १५ परिवारका एक सयभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। बस्ती डुबानमा परेपछि आफूहरु ज्यान जोगाउन पशुवस्तु, अन्नपात र कुखुरा घरमै छाडेर सडकमा आएको रतन कामीले बताए।
सडकमा बास बस्दा कुकुर र मानसिक सन्तुलन बिग्रिएका मानिसले सताउने गरेको स्थानीय परुली कामी बताउँछिन्। १२ वर्षदेखि डोटी र दैलेख जिल्लाबाट बसाइ सरी आएका सुकुम्वासी दलित बस्तीलाई हरेक वर्ष कान्द्रा नदीको बाढीले दुःख दिने गरेको छ।
आफूहरू १२ वर्षदेखि डुबानका कारण हरेक वर्षको असारदेखि कात्तिकसम्म सडकमै बस्ने गरेको स्थानीय बताउँछन्। बस्ती डुबानका कारण १५ घरपरिवार समस्यामा परे पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले वास्ता नगरेको उनीहरूको गुनासो छ।
यस्तै भजनी नगरपालिका–९ कि सिर्जना बम तीन दिनसम्म खुला आकाशमुनि सामुदायिक वनभित्र बालबच्चासहित बसिन्। असोज ५ गते नेपाल रेडक्रस सोसाईटी कैलालीले उनलाई त्रिपाल वितरण गरेपछि वनभित्र सोही त्रिपाल लगाएर बसेकी छिन्। ‘घरभित्र नदी पसेको छ। खुला आकाशभन्दा शीर लुकाउन त्रिपाल सुरक्षित बनेको छ,’ उनी भन्छिन्, ‘तर, यहाँ पनि लामखुट्टे र किराले हैरान पार्छन्। त्यसैमाथि जंगली जनावरको त्रास उस्तै छ।’
यतिबेला भजनी नगरपालिकामा बाढीबाट प्रभावित परिवारहरु जंगल, विद्यालय र सडकमा त्रिपालको सहारामा बसिरहेका छन्।
भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए। चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन। बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन्। घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ।
भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ। शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरलो छ।
उनको अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन्। विश्वकर्माको परिवार राहतको पर्खाइमा छ।
केही रात खुला आकाशमुनि बिताएका उनीहरुले ओत लाग्न त्रिपाल पाए पनि आधारभूत सेवाः स्वास्थ्य, स्वच्छ खानेपानी, सरसफाइ किट र झुलजस्ता वस्तु पाएका छैनन्। जसका कारण बाढी प्रभावितहरु बसिरहेको क्षेत्रमा किटजन्य रोगको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बाढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै कार्यालयमा मौज्दात रहेका झूललगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको बताए। तर, सबै ठाउँमा नपुगेपछि प्रदेश सरकारसँग माग गरिएको उनको भनाइ छ। उनले भने, ‘हामीले कुनै पनि रोगको संक्रमण बाढी प्रभावित क्षेत्रमा फैलन नदिने गरी काम गरिरहेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।