काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन्।
मंगलबार कोषको ४९औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कोषले ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
उनले कोषलाई योजनामा ध्यान दिन र प्रिमियमा मात्रै फोकस नहुन सुझाव दिए। गभर्नर अधिकारीले कोषको काम पैसा संकलन गर्ने मात्रै नभएको बताए।
उनले कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको उल्लेख गरे। अधिकारीले राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने विषयमा केन्द्रित भएर कर्जा योजनामा निर्देशन गरेको भन्दै कोषले ब्रिजको काम गर्नुपर्ने धारणा राखे। गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर गर्नसक्ने नयाँ पाँच वर्षे योजना बनाएर काम गर्न सुझाव दिए।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको बताए। उनले बैंक तथा वित्तीय संस्थाहरुले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगानी गर्ने नगरेको बताए।
गभर्नर अधिकारीले अर्थतन्त्रले अहिले आन्तरिक उत्पादन वृद्धि खोजिरहेकाले राष्ट्र बैंकले अर्थतन्त्रको आवश्यकता अनुसार कर्जा नीति बनाउँदै आएको बताए। उनले राष्ट्र बैंकले अहिले बैंकहरुको कूल कर्जा लगानीको १५ प्रतिशत साना लघु, घरेलु तथा साना उद्योग, कृषिमा र १० प्रतिशत जलविद्युतमा लगानी अनिवार्य गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।