काठमाडौं– विकेश मुखियाको ३ वर्ष अगाडिसम्म जीवन ठिकठाक चलिरहेको थियो। उनी काठमाडौंका बडेमान ‘बिल्डिङ’हरूमा रङ्ग लगाउँदै सर्लाहीमा रहेको आफ्नो झिँगटीले छाएको घर सजाउँदै थिए।
तर, कोरोनाका कारण उनको काम ठप्प भयो। उनी खाली हात नै सर्लाही फर्किए। वर्षौं राजधानीमा बसेर काम गर्दा पनि घरको छानो फेर्न नसकेका उनलाई अब गाउँमै बस्नका लागि उनका बाबु र श्रीमतीले कर गरे। विकेशका बाबुले उनलाई गाउँमा नै राख्नको लागि २ लाख ऋण गरेर अटो रिक्सा किनिदिए। तर, कोरोनाका कारण रिक्सा किन्दा लागेको ऋण तिर्न त परको कुरा ब्याजसमेत समयमा तिर्न सकेनन्।
1663555810.png)
काठमाडौंका बिल्डिङहरूमा रङ्ग लगाएर आफ्नो घर सजाउने सपना कोरोनाले बिथोल्यो। आफ्नै गाउँमा उद्यम गरेर परिवारसँगै बस्ने सपना तुहियो। अनि उनले ऋण तिर्न विदेश जाने सोचले पासपोर्ट बनाए। गाउँकै एक जनाले काठमाडौंमा भएको म्यानपावरहरूसँग सम्पर्क गराए।
म्यानपावरले उनलाई साउदी जान सल्लाह दियो। म्यानपावरका एक कर्मचारीले देखाएको आश्वासन सुनाउँदै विकेश भन्छन्, ‘उनले मलाई साउदीमा अहिले निकै राम्रो काम र सेवा सुविधा छ। मासिक एक हजार रियाल कमाई, हप्तामा ६ दिन काम त्यो पनि दैनिक ८ घण्टा मात्रै काम गरे हुन्छ। त्यसैले नेपालबाट धेरै मानिसहरू त्यहीँ गएका छन्। तिमी पनि राम्रो काममा जाने हो भने एक लाख २० हजार लागत लाग्छ।’
उनलाई परिवारको ऋणले च्यापेको थियो। त्यसैले उनी थप ऋण लिएर नै भए पनि साउदी जानको लागि राजी भए। साउदी जानका लागि आफूले थप दुई लाख ऋण लिएको सुनाउँछन् उनी।
1663555810.png)
‘म विदेश गएपछि कमाएर ऋण तिर्ने ठूलो सपना बोकेर काठमाडौं आएँ। विदेश जान सबै प्रक्रिया पूरा गरेँ। दुई लाख २० हजार खर्च गरेर साउदी गएँ’, मुखियाले सुनाए।
उनीसँगै साउदी जानेमा सर्लाही कै कृष्णनन्दन पनि एक हुन्। पारिवारिक समस्याको कारण पढाइभन्दा काममा नै ध्यान दिनुपर्ने भयो। उनी प्राय बाबुसँग ज्याला गर्न अरूकै खेतमा काम गर्न जान्थे। कहिले काँही त आफू भारतमासमेत खेतको काम गर्नको लागि जाने गरेको उनी सुनाउँछन्।
आफ्नो खेत नभएका कारण पनि जिविका चलाउन अरुकै खेतमा काम गर्न जानुपर्ने बाध्यता थियो। आफ्नो खेत नभएपछि उनका बाबुले ऋण नै गरेर भए पनि जग्गा जोड्ने निधो गरे।
‘२ लाख खर्चेर गाउँमा नै जमिन किन्यौं। तर, त्यसको आम्दानीले जग्गा किन्न लागेको ऋण तिर्न सकिएन। त्यही ऋणले विदेश जानुपर्ने अवस्था आयो,’ उनले भने, ‘विदेश जाँदा फेरि २ लाख २० हजार ऋण थपियो।’
1663555809.png)
यस्तै सर्लाही कै गोपी महतोको कथा पनि उस्तै छ। घरको ऋण तिर्न ऋण नै लिएर साउदी उडे।
०००
यी तीनै जना काठमाडौंको सिनामंगलमा भएको अन्नपूर्ण म्यानपावरबाट वैदेशिक रोजगारीका लागि गत पुस १९ साउदी पुगेका थिए। तीनै जनालाई म्यानपावरले ‘स्काफोल्डिङ’ को काम हुने बताएको थियो।
तर, त्यहाँ पुगेपछि आफूहरूसँग म्यानपावरले सम्झौता अनुरूपको काम नदिएको उनीहरूको गुनासो छ। उक्त श्रम सम्झौता पत्रमा विकेशले २ वर्षको अवधि परीक्षण काल, काम गरेवापतको मासिक तलब एक हजार रियाल, काम दैनिक आठ घण्टा उल्लेख गरेका छन्। त्यस्तै खाजा, खाना, स्वास्थ्य परीक्षण, व्यवस्था, हवाई टिकट कम्पनीले दिने भनी उल्लेख गरेका छन्। तर, उनीहरूले त्यो सम्झौता अनुरूप न काम पाए न सुविधा नै।
‘हामीलाई साउदीको दमामस्थित रफ्गा कम्पनीमा काममा लगाइयो। आठ घण्टा काम भनेर सम्झौता गरेको तर कुनै दिन त १२ घण्टासम्म काम गर्न बाध्य भयौं,’ उनीहरू भन्छन्, ‘मासिक तलब १ हजार रियाल भनेकोमा पनि कम्पनीले आठ सय रियfल मात्र दियो। सम्झौता अनुसार सुविधा नभए पनि काम गर्नु हाम्रो बाध्यता थियो। त्यत्रो ऋण लिएर गएको त्यसै फर्कन पनि त भएन।’
1663555809.png)
उनीहरूलाई उक्त कम्पनीले तीन महिनासम्म त तलब दियो। चौथो महिनादेखि तलब दिन छाड्यो। त्यसपछि उनीहरूले नेपालबाट आफूलाई साउदी पठाउने म्यानपावरमा फोन गरे। तर, म्यानपावरवालाले उल्टै ‘तिमिलाई कामको मतलब छ कि पैसाको’ भन्दै उल्टै झपार्यो।
बुझ्दै जाँदा त आफूहरूले काम गरेको कम्पनी २ वर्षदेखि ‘रेड लिस्ट’ मा भएको पाए। ‘काम नभएको ४ महिनापछि हामीलाई जस्ता पाताले छाएको छाप्रोमा लगेर राखिदियो। ४५ डिग्री सेल्सियस घाममा न फ्यान थियो न त एसी न पानी नै,’ पीडितमध्येका एकले आफूले पाएको दु:ख सुनाउँदै भने, ‘त्यसरी बस्ने हामी मात्रै थिएनौं। अरू नेपाली पनि थिए। उनीहरूलाई पनि नेपालबाट नै हामीलाई जस्तै ठगेर पठाएको रहेछ।’
1663555809.png)
यतिसम्म कि उनीहरूले पेटभरी खानासमेत खान पाएनन्। महिनामा एक बोरा चामल, केही केजी दाल र नुनको भरमा साउदीमा ९ महिना समय बिताए।
‘एक जना साथी बिरामी पर्दा उपचार गराउन अकामाको म्याद सकिएको थियो। त्यो साथीको उपचार गराउन पनि मिलेन,’ विकेशले भने, ‘आकामाको म्याद थप गर्न पनि २५ सय रियाल लाग्ने हुँदा थपसमेत गरेनन्।’
नेपालबाट साउदी पुगेका म्यानपावरका कर्मचारीले एउटा पेपरमा हस्ताक्षर गर्न लगाए। तर, काम भने केही नभएको उनीहरूको गुनासो छ। ‘म्यानपावरमा ती मानिसले हामीलाई दुई दिनमै नेपाल फर्काउने आश्वासन दिए। तर, हामी ९ महिनासम्म त्यहाँ ट्वाइलेटमा रात बिताउन बाध्य भयौं। कम्पनीले केही गर्ने छाँट नदेखेपछि हामी घरबाट फेरि ऋण लिएर फर्कन बाध्य भयौं,’ उनीहरू भन्छन्, ‘हामी ऋण तिर्न भनेर विदेशिएका थियौं। तर, उल्टो ऋण लिएर फर्कन बाध्य भयौं।’
1663555810.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।