काठमाडौं– आउँदो निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।
सिट बाँडफाँटका लागि बनेको कार्यदलका नेताहरूलाई राखेर गठबन्धनका शीर्ष नेता छलफलमा जुटेको बैठकमा सहभागी जसपा नेता मनिषकुमार सुमनले जानकारी दिए। यो बैठकलाई ‘निर्णायक बैठक’ भनिएको छ। बैठकबाट सिट बाँडफाँट जसरी पनि टुंग्याउने ‘सहमति’ भएको कार्यदलका एक सदस्यले जानकारी दिए।
कार्यदलले यसअघि नै प्रतिवेदन बुझाइसकेको छ। तर, प्रतिवेदनमा सबै सहमति नजुटेकाले त्यसलाई अन्तिम रूप दिन शीर्ष नेताहरू नै अघि सर्नुपर्ने अवस्था आएको हो।
यसअघिका बैठकमा आ-आफ्नो पार्टीबाट दाबी मात्रै पेस गर्दा सहमति नभएको उल्लेख गर्दै यसपल्ट सम्झौता गर्न सकिने विन्दु तय गर्न भनिएको कार्यदलका ती सदस्यले बताए। उनका अनुसार केन्द्रमा केही कममा चित्त बुझाउने दललाई प्रदेशमा त्यही अनुपातमा बढाउन सकिनेगरी प्रस्ताव अघि सारिएको छ।
आफूले दाबी गर्दै आएकोमा कम्तिमा १५ देखि २५ प्रतिशत कम गरेर पार्टीमा सहमति जुटाएर आउँदा बाँडफाँट मिल्ने आकलन नेताहरुको छ। जसअनुसार हाल १०० सिट दाबी गर्दै आएको कांग्रेस ८५ सिट भन्दा तल झर्नु पर्नेछ।
यसअघिकै बैठकमा कांग्रेसले ९० सिटमा झर्न सकिने संकेत गरिसकेको थियो। त्यसैगरी ६० सिट दाबी गरेको माओवादी ४५ मा झर्नुपर्नेछ। ४० वरपर सहमत हुनेगरी माओवादी तयार हुँदा मिलाउन सहज हुने कांग्रेस नेताहरुको आशय छ।
त्यसैगरी, ४० दाबी गरिरहेको एकीकृत समाजवादीलाई २० वरपर सहमत हुन र ३२ सिट मागिरहेको जसपालाई २० भन्दा केही कम सिटमै सहमति गर्न दबाब परेको छ।
शुक्रबार सिट बाँडफाँटको निर्णायक छलफल गर्ने भनिए पनि नेताहरू काठमाडौंबाहिर गएका कारण बैठक बस्न सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।