धनगढी– सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा ‘शिखर जात’ (जात्रा) बिहीबार राति हुँदैछ। प्रत्येक वर्ष भाद्र चतुर्दशीको राति डोटी, डडेल्धुरा र दार्चुलामा लाग्ने शिखर मेलाको आफनै महत्त्व छ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ र डोटीको शिखर नगरपालिका–५ को महाभारत वनक्षेत्रको घनाजंगलमा मेला आयोजना लाग्ने गर्छ। गन्यापधुराको शिखरको गात ‘ठूलो ढुंगा’सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ।
शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७/८ बजे तिर गात शिखरमा पुग्छन्।
शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल, डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा छ।
देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गरेका स्थानीय पण्डित शंकरप्रसाद जोशीले जानकारी दिए।
मेला भर्नको लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास छ।
मेला भर्नका लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको लाटागन्याप क्षेत्र विकास समितिका अध्यक्ष पूर्णबहादुर देउवाले बताए। जात्रामा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका उनको भनाइ छ। मेलाको अवसरमा उक्त क्षेत्रमा माछा, मासु र मदिरा पूर्ण रुपमा बन्द गरिएको समेत उनले बताए।
भाट भटेनीको विशेष महत्व
पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएका थिए। फुल भाटकी श्रीमतीले सर्पलाई कहाँ राख्ने भनी विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीँ राखिदिएका थिए।
त्यसपछि फुलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ। फुल भाटकी श्रीमती निष्ठावान भएकीले एकदिन एकजना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगि फुल भाटकी श्रीमतीलाई खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएको भनिन्छ।
फुल भाटकी श्रीमतीले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन्। अनि हतार–हतार थाली कता लुकाउने भनी खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन्।
फेरि दुवै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेका, देवता शिखरको शिलामा पुगी बिलीन भएका र त्यहीँ भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ।
अझै ओझेलमा शिखर
प्रसिद्ध धार्मिक शक्तिपीठ लाटागन्यापको व्यापक प्रचार–प्रसार हुन नसक्दा अझै पनि ओझेलमा परेको छ। शिखरमा विभिन्न पूर्वाधारको अभाव हुँदा दर्शनार्थीहरूको आकर्षण बन्न सकेको छैन।
वर्षमा एकचोटी मेलामा मात्रै स्थानीयको सो ठाउँमा चहलपहल रहन्छ। उक्त ठाउँलाई सुगम बनाएर दैनिक चहलपहल गर्न सकियो भने पर्यटक भित्रिने प्रचुर सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।