काठमाडौं– वैदेशिक रोजगारीको लागि कोरिया जानको लागि २०१८ को रोस्टर (प्रतीक्षा सूची)मा नाम भएका १४ सय जनाभन्दा धेरै नेपालीहरू कोरिया जान पाउनेबारे अन्यौलता देखिएको छ। कोरिया जान भाषा परीक्षा दिएकाहरूको नाम २ वर्षसम्म रोस्टरमा नाम रहन्छ। तर कोरोनाको कारण ३ वर्ष नेपाली श्रमिक वैदेशिक रोजगारीमा कोरिया जान पाएनन्।
२०१८ सालमा कोरिया जानको लागि परीक्षा दिएका ७० प्रतिशत रोजगार प्रक्रियामा सामेल भएका थिए र रोजगार दाताको छनौटमा परेका थिए। नेपालीहरू कोरियामा निर्माण तथा कृषि क्षेत्रमा जाने गरेका छन्। उक्त वर्ष निर्माण क्षेत्रको लागि भाषा परीक्षा दिएका लगभग सबै जना कोरिया गएको तर कृषि क्षेत्रमा रोजगारीको लागि परीक्षा दिनेमा ३२ सय जनाले भाषा परीक्षा पास गरेकोमा १४ सय जना कोरिया जान पाएका छैनन्। उनीहरू रोजगारीको लागि रोजगार दाताले छनोट नै गर्न नपाइ म्याद सकिएको वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया साखाका निर्देशक पुष्पराज कटुवालले बताए।
‘२०१८ मा नै भाषा परीक्षा दिएका लगभग १४ सय जना नेपाली श्रमिकहरूको रोस्टरको म्याद सकिएको छ’ कटुवालले भने ‘उनीहरू अहिलेसम्म जान नपाउनुको मुख्य कारण म्याद सकिएकाले हो।’
उनका अनुसार कार्तिक यता मात्रै कोभिड महामारी अगाडि परीक्षा दिएर जान बाँकी करिब ९ हजार नेपाली श्रमिकहरू कोरिया गएका छन्। सन २०१७ देखि १९ सम्म भाषा परीक्षा दिएर बसेका २५ सय नेपालीहरू कोरिया जान बाँकी रहेका छन्। उनीहरूलाई रोजगार प्रक्रियामा सामेल गराउनको लागि रोस्टरको अवधि थप गर्नको लागि विभागले पहल गरिरहेको निर्देशक कटुवालले नेपाल लाइभलाई बताए।
‘नेपालबाट जान नपाएका कामदार लैजानु परेको खण्डमा कोरियाले आफ्नो नीतिमा परिवर्तन गर्नुपर्ने हुन्छ। तर, उनीहरूले नेपालको मात्र नीति परिवर्तन गर्न नसकिने र इपीएसमार्फ कामदार पठाउन १६ वटै देशको आवश्यक भएको खण्डमा परिवर्तन गर्न सकिने जवाफ नेपाललाई दिएको छ।’
‘हामीले बाँकी रहेकालाई कोरिया पठाउने बारे कोरियासँग पहल गरिरहेका छौं। तर कोरियाले नेपालको लागि मात्रै नियम संशोधन नगर्ने जनाएकोले उनीहरू रोजकारीको लागि कोरिया जान पाउने कि नपाउने भनेर अन्यौलता सिर्जना भएको छ’ उनले भने ‘नेपालबाट जान नपाएका कामदार लैजानु परेको खण्डमा कोरियाले आफ्नो नीतिमा परिवर्तन गर्नुपर्ने हुन्छ। तर, उनीहरूले नेपालको मात्र नीति परिवर्तन गर्न नसकिने र इपीएसमार्फ कामदार पठाउन १६ वटै देशको आवश्यक भएको खण्डमा परिवर्तन गर्न सकिने जवाफ नेपाललाई दिएको छ।’
किन आकर्षक कोरिया रोजगारी?
रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरियाली रोजगारीमा नेपाली युवाको आकर्षण बढी छ। सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवाहरू रोजगारीमा कोरिया गइरहेका छन्।
नेपाली युवा जाने निर्माण तथा कृषिजन्य काममा नेपाली युवाका लागि अन्य गन्तव्यभन्दा तुलनात्मक रूपमा कमाइ बढी हुने भएकाले नेपालीहरू कोरियाप्रति आकर्षित छन्। इपिएस प्रणालीमार्फत हालसम्म झन्डै ७० हजार नेपाली युवाहरूले कोरियाली रोजगारीको अवसर पाएका छन्। जसमध्ये अहिले ३० हजार कोरियामा नै रोजगारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।