काठमाडौं– सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक मंगलबार पनि बस्दैछ। कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले साँझ ६ बजे बैठक बस्ने जानकारी दिए।
सोमबार दिनभर बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि मंगलबार पुनः बैठक बस्ने भएको हो । मंगलबार सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।
संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर मंगलबारै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए ।
कार्यदलका सचिव अधिवक्ता जोशीले पनि मंगलबारसम्म टुंग्याउने गरी सोमबारको बैठक टुंगिएको जानकारी दिँदै सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।