काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड शेरजङ गुरुङलाई भेटेका छन्। कानुन सबैलाई बराबर हुने भन्दै उनलाई धन्यवाद दिएको लामिछानेले बताएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गुरुङले आफूमाथि दुर्व्यहार गरेको भन्दै प्रहरीमा उजुरी हाल्न लगाएका थिए। सोही उजुरीका आधारमा उनलाई अभद्र व्यवहारको मुद्दा लगाएर पाँच दिनका लागि हिरासतमा लगिएको छ। उनी प्रहरी वृत्त दरबारमार्गको हिरासतमा छन्।
लामिछानेले गुरुङलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंङ गुरुङसँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ।’
आफूसँग शेरजङले ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुर्व्यवहार गरेको छैन’ भनेको उनले उल्लेख गरेका छन्। उनका अनुसार गुरुङको थप भनाइ छ, ‘मन्त्री भन्ने मलाई थाहा पनि भएन। थाहा भएपनि डिउटी त गर्नै पर्यो।’
गुरुङको भनाइ सत्य भएमा थुनामा राख्ने होइन ससम्मान रिहा गर्न रविले माग गरेका छन्। भन्छन्, ‘दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।