लमजुङ– नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभाका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन्।
माओवादी जिल्ला समन्वय समितिको बैठकले उनका साथै स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीलाई पनि प्रतिनिधि सभा प्रत्यक्षमै सिफारिस गरेको छ।
महासचिव गुरुङ २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ। प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।
नेकपा एमालेका उप-महासचिव पृथ्वीसुब्बा गुरुङसँग उनको प्रतिष्पर्धा हुने आकलन यसअघि थियो। तर उपमहासचिव गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ‘ख’ बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए।
एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव सुवास पौडेलको नाम सिफारिस गरिएको छ। गुरुङका प्रतिष्पर्धी घले र पौडेलमध्ये एक हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।