काठमाडौं– सरकारले धितोपत्रको इन्साइडर ट्रेडिङमा कारबाहीका लागि अब नयाँ कानुनी व्यवस्था ल्याउने भएको छ। इन्साइडर कारोबारमा अब प्रहरीले अध्ययन अनुसन्धान गरी कारबाही गर्नसक्ने व्यवस्थासहित कानुन संशोधनका लागि संसद्मा पेस गरिएको छ।
संशोधनका लागि संसद्मा पेस भएको विधेयकमा धितोपत्र सम्बन्धी ऐन २०६३ को विभिन्न व्यवस्थामा संशोधन गर्दै अब फौजदारी मुद्दा लाग्ने गरी प्रक्रिया अगाडि बढाउनसक्ने व्यवस्था गरिएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिच्छेद–९ मा रहेको धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय अन्तर्गत ऐनको दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लेखित व्यवस्थामा संशोधन गरिएको छ।
यसैगरी, संशोधन अन्तर्गत कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुने र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची–१ मा समावेश भएको मानिने उल्लेख गरिएको छ।

सोही अनुरुप हालको धितोपत्र सम्बन्धी मौजुदा ऐनमा दफा ९१ मा भित्री कारोबार, दफा ९४ मा झुट्टा कारोबार, दफा ९५ मा मूल्य उतार चढाव, दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पारेमा दफा ९७ मा झुक्याउने विवरण दिने, दफा ९८ मा जालसाजीयुक्त कारोबार, ९९ मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने र दफा १०० मा लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा गरिने दण्ड तथा सजायको व्यवस्था गरिएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिताको अनुसूची १ अनुसार त्यस्ता मुद्दामा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।