काठमाडौं– काठमाडौंका ७ वटा क्यासिनोलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ। आइतबार एक पत्र लेख्दै महानगरले कर तिर्नका लागि ७ दिने अल्टिमेटम दिएको हो।
बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको छ। तर महानगरभित्र भएका ७ क्यासिनोलाई मनोरञ्जन कर बुझाउनको लागि पटक–पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कर बुझाएका छैनन्।
‘प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हाल सम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत यस पत्र प्राप्त भएको मितिले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा बुझाउनुहुन अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने बेहोरा जानकारीको लागि समेत अनुरोध छ।’
महानगरपालिकाले म्यारियट होटमा रहेको डेल्टीन क्यासिनो, अन्नपूर्ण होटमा रहेको क्यासिनो प्यालेस, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट, हायात होटलको प्राइट इन्टरनेशनल एण्ड रिक्रिएसन, होटल सोल्टीको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर तिर्ने भनेको हो।
क्यासिनोहरुले क्यासिनोमा प्रवेश गर्ने व्यक्तिबाट प्रतिव्यक्ति २५ रुपैयाँका दरले मनोरञ्जन कर उठाउने गरेका छन्। तर, विगत ४ वर्षदेखि उक्त कर महानगरपालिकामा दाखिला गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।