काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग सम्बन्धित श्रमिकका गुनासा तत्काल सम्बोधन गर्ने गरेको बताएका छन्।
मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको आइतबार अंकमा श्रमिकसँग प्रत्यक्ष फोनमा कुरा गर्दै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासाको तत्काल सुनुवाइ भइरहेको दाबी गरेका हुन्।
बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत् देश र विदेशबाट गरी दश जना श्रमिकहरुले मन्त्री कुँवरलाई आफ्ना जिज्ञासा, गुनासा र समस्या सुनाएका थिए। झापाबाट फोन गर्दै एक श्रमिकले कोरिया जानका लागि भाषा परीक्षा पास गरेर पनि जान नपाएको गुनासो मन्त्री कुँवरलाई सुनाएका छन्।
त्यस्तै, साउदी अरब र मलेसियाबाट फोन गर्दै श्रमिकहरुले कम्पनीले काम नदिएको र आफू बिरामी भएर अस्पतालमा उपचार गराइरहेको गुनासो मन्त्रीलाई सुनाएका थिए। यी गुनासाबारे मन्त्री कुँवरले सम्बन्धित निकायलाई भनेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन्।
कार्यक्रममा विष्णदेवु साहले फोन गर्दै गत वैशाख २ गते साउदीमा दुर्घटनामा परी सुरेन्द्र प्रसाद साहको मृत्यु भएको र उनको शव नेपाल ल्याउन पहल गरिदिन मन्त्री कुँवरलाई आग्रह गरेका छन्। जसमा मन्त्री कुँवरले परराष्ट्र मन्त्रालयसँग घटनाबारे बुझ्ने र जतिसक्दो छिटो शव ल्याउन पहल गरिने बताए ।
श्रमिकसँग मन्त्री कुँवरले विदेशमा रहेका श्रमिकहरुका समस्या र गुनासाहरुप्रति आफू गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको बताए।
श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।