काठमाडौं– निलम्बित प्रभानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सम्पादनमा देखिएको प्रधानन्यायाधीशको भूमिका र त्यसले ल्याएको विचलनबारे बयान दिएका छन्। आइतबार महाभियोग सिफारिस समितिले राणासँग यो विषयमा एक घण्टा बयान लिएको छ।
समिति सदस्य, कांग्रेस सांसद मिन विश्वकर्माका अनुसार आइतबार मुद्दामा हुने ढिलासुस्ति र मुख्यगरि सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको श्रीमती हत्या सम्बन्धी मुद्दाका विषयमा प्रश्न सोधिएको थियो।
राणाले अदालतमा मुद्दाको चाङ रहेकोले सुनुवाइमा केही ढिला भएको जवाफ दिएको विश्वकर्माले बताए।
राणाले गरेको बहुचर्चित विवादास्पद फैसलामध्येको अर्को हो, कोइरालाको सजाय घटाउने। यसमा राणाले कोइरालाको पारिवारिक प्रभावमा परेको र फैसला गर्ने क्रममा न्यायाधीशको विवेक प्रयोग गरेको जवाफ दिएका छन्।
‘२० वर्षको सजायलाई मैले साढे ८ वर्षमा झारेँ। कोइराला परिवारको कुरा सुनेपछि न्यायालयबाट गल्ती भएछ कि भनेर पारिवारिक प्रभावमा परेँ,’ राणालाई उदृत गर्दै विश्वकर्माले भने, ‘न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार दिएको हुन्छ। यसमा मैले मेरो विवेक प्रयोग गरेको हुँ।’
राणाले यस फैसलामा आफ्नो गल्ती भएको स्वीकारेका छन्। यही कारणले महाभियोग ल्याइएको हो भने त्यसको सामना गर्न तयार रहेको राणाले बताएका सांसद विश्वकर्माको भनाइ छ।
राणसँगका अर्को बयान भदौ २५ गते लिइनेछ। यसअघि उनीसँग दुई दिन बयान लिइसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।