काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग सिफारिस समितिमा तेस्रो दिनको बयान सुरु भएको छ।
सिंहदरबारस्थित समितिको कार्यालयमा उनको बयान सुरु भएको हो। समितिले उनीसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियो ।
बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ। पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ। आज सातौँ प्रश्नबाट बयान सरू भएको छ। निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको र संविधान र कानुन बमोजिम काम गर्दै आएको बयान दिएका छन्।
छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ। उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो।उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ।
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधि सभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो। राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।