विराटनगर– नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेता डा. शेखर काइरालाको नाम मोरङ क्षेत्र नं ६ बाट सर्वसम्मत हुन नसकेपछि क्षेत्रीय समितिले चार जनाको नाम सिफारिस गरी जिल्ला कार्यसमितिलाई बुझाएको छ।
क्षेत्रीय समितिका सचिव जितेन्द्र गोल्छाले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ डा. कोइरालासहित डा. डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको बताए।
क्षेत्रीय समितिको बैठकमा उम्मेदवारका आकांक्षीले भरेको प्रतिबद्धतापत्रका आधारमा चार जनाको नाम सिफारिस गरिएको जानकारी दिइएको छ। डा. कोइराला आफ्नो क्षेत्रबाट चार पटक चुनाव लडेका छन्। उनले दुईपटक चुनाव जितेका छन् भने दुई पटक हारेका थिए। पछिल्लो पटक २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतान्तरले उनी पराजित भएका थिए।
क्षेत्र नं ६ बाट सिफारिस भएका संग्रौला, रायमाझी र बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। कांग्रेस केन्द्रीय सदस्य रहेकी संग्रौला समानुपातिक सांसद हुन्। यसपटक उनले प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहेकी हुन्। गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनले विराटनगर महानगरपालिकाको मेयरमा दाबी गरेकी थिइन्। तर नागेश कोइरालाले टिकट पाए र निर्वाचित पनि भए।
प्रतिनिधि सभामा प्रत्यक्षका अर्का दाबेदार रमेशजंग रायमाझी राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता हुन्। हालै मात्र उनलाई नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेतामा मनोनित गरेका हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल अझै दुई वर्ष बाँकी छ।
प्रत्यक्षतर्फ सिफारिसमा परेका अर्का आकांक्षी बस्नेत पनि देउवा समूहकै हुन्। खोटाङ जिल्लाको दुई कार्यकाल सभापति र एकपटक सांसद भइसकेका बस्नेत पछिल्लो समय मोरङमा रहेर राजनीति गर्दै आएका छन्। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला वन मन्त्रीसमेत भएका बस्नेतले यस पटक आफूले मौका पाउनुपर्ने दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।