काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सभा र प्रतिनिधि सभाको आउँदो निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ छ।
‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास व्यक्त गरे।
महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँट टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने बताए।
‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौं। अहिले गठबन्धन भन्ने भएकाले को, कहाँबाट लड्ने? त्यसको तालमेल मिलाउँदैछौं। अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ’, थापाले भने, ‘त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’
महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई’ गठन गर्ने जानकारी दिए।
उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाईको आवश्यकता रहेको पनि स्पष्ट पारे। महामन्त्री थापाले भने, ‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दैछौं– पार्टीमा एउटा डेडिकेटेट र परमानेन्ट इकाई बनाउने भनेर। जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई भनेर पार्टीभित्र राख्न खोज्दैछौं। जसले ५ वर्ष स्थानीय सरकारलाई सशक्त बनाउने र जनताको पक्षमा धेरैभन्दा धेरै काम गराउनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।