फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता आएको नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपतिप्रति र राष्ट्रपति पदप्रतिको अपमान हुने बताए।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश बेठिक नभएको बताउँदै राष्ट्रपतिबाट आएको संदेश र सुझावहरु ग्रहणयोग्य रहेको बताए। नागरिकता विधेयकको सम्बन्धमा पुनःविचार गर्नुपर्नेमा उनले जोड दिए।
‘मैले त यसलाई पास गर्नुपर्छ । फर्काउनुपर्छ । जस्ताको त्यस्तै पठाउनुपर्छ भन्ने विषयमा मेरो विचार यो छ भन्दिनँ’ गौतमले भने, ‘तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो । र त्यो राष्ट्रपति पदको अपमान हो ।’
उनले भने, ‘राष्ट्रिय सभाले कम्तिमा ति सन्देशका बुँदाहरुमा आज तपाई जे गर्दै हुनुहुन्छ त्यही निस्कर्ष निकाल्नुहुन्थ्यो । हामी थियौं नि बहस गर्ने विधेयक सम्बन्धमा । किन बोलाइएन हामीलाई ? कतिपय विषयहरु ती अत्यन्त ग्रहणिय छन् । शिक्षा लिने किसिमका छन् । जस्ताको त्यस्तै पठायौं भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ । पुनर्विचार गर्नुपर्छ ।’
उनले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै राष्ट्रिय सभामा पठाएकोप्रति पनि असन्तुष्टि जनाए । साथै सुझावहरुमाथि समितिमा छलफल नहुनु बौद्धिकतामाथिको हमला भएको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।