काठमाडौं– नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघको तालाबन्दीका कारण ‘बन्द’ रहेको त्रिभुवन विश्वविद्यालय खुलाउनका लागि प्रतिनिधि सभा बैठकमा सभामुखको रुलिङ माग भएको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पदम गिरीले विश्वविद्यालय खुलाउनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई रुलिङ गर्न माग गरेका हुन्।
कुलपति (प्रधानमन्त्री) शेर बहादुर देउवा, सहकुलपति (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री) देवेन्द्र पौडेलले विश्वविद्यालयलाई बन्धक बनाउन खोजेको भन्दै सांसद गिरीले रुलिङ गर्न माग गरे। सांसद गिरीले गठबन्धनको सरकार आएयता त्रिभुवन विश्वविद्यालय बन्द भएको बताए।
सत्ता गठबन्धनको दल कांग्रेसको भातृ संगठन नेविसंघले विश्वविद्यालय बन्द गरेको बताउँदै सांसद गिरीले त्यो बन्द विद्यार्थी र विश्वविद्यालयको हितका लागि नभएको जिकिर गरे। त्रिविका प्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेलाई अदालतले धरौटीमा छुटाएको र उक्त धरौटी बापतको रकम त्रिविले तिर्नु पर्ने भन्दै उककुलपतिको कुर्सीमा जुत्ताको माला लगाइएको आरोप पनि सांसद गिरिले लगाए।
भाद्र ८ गते नेविसंघले त्रिविको कार्यकक्ष तोडफोड गरेको बताउँदै सांसद गिरीले सुरक्षाकर्मी मुखदर्शक भएको आरोप लगाए। त्रिविले भदौ १० गते होटल प्यागोडामा कार्यक्रम गरिरहेको अवस्थामा नेविसंघले त्रिविका कागजात लिएर शिक्षामन्त्रीलाई बुझाएको बताउँदै सांसद गिरीले प्रश्न गरे, ‘शिक्षामन्त्रीले कागजात बुझ्न मिल्छ कि मिल्दैन?’
सांसद गिरीले आफ्नो पार्टीका सांसदहरुले त्रिविका बारेमा बारम्बार संसद्को ध्यानाकर्षण गराएको र सभामुखले १३ गते सरकारको नाममा तुरुन्त विश्वविद्यालय खोल्न रुलिङ गरेपनि कुलपति बहादुर देउवा र सहकुलपति पौडेल तथा गृहमन्त्री बालकृष्ण खाणले कुनै पहल नै नगरेको आरोप लगाए।
यसअघि पनि एमालेका सांसदहरुले त्रिविको समस्या समाधानका लागि सरकारका नाममा सभामुखको रुलिङ माग गरेका थिए। एमालेका सांसदहरुको मागअनुसार सभामुख सापकोटाले त्रिविको समस्या समाधान गर्न भन्दै भदौ १३ गतेको बैठकमा सरकारलाई रुलिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।