काठमाडौं– भृकुटीमण्डपमा रहेको ‘फन पार्क’ले सञ्चालन भएदेखि नै काठमाडौं महानगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको पाइएको छ।
फन पार्कले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर अहिलेसम्म नतिरेको पाइएको छ।
यसरी कर नतिरेको पाइएपछि महानगरले २४ घण्टाभित्र बाँकी सम्पूर्ण रकम र अहिलेसम्म जरिवाना समेत दाखिला गर्न पत्र काटेको छ। यदि उक्त रकम र जरिवाना महानरलाई तोकिएको समयमा नतिरे शिलबन्दी नै गर्ने चेतावनी दिएको छ।
‘वर्षौंदेखि व्यवसाय सञ्चालन गरेकोमा यस अगाडि पटक–पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले यस पत्र लेख्ने कार्य भएको छ’, उक्त पत्रमा भनिएको छ ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाको राजश्व विभाग बबरमहलमा गइ पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्नहुन अनुरोध छ।’
यस्तै, तोकिएको समयभित्र नबुझाएमा फन पार्क शिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह अशुलउपर गरिने महानगरको पत्रमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।