काठमाडौं– अफगानिस्तानमा तालिवान शासन पुनर्बहाली भएको एक वर्षभन्दा बढी समय बितिसकेको छ। यसले जीवनका हरेक पक्षमा गहिरो प्रभाव पारेको छ। तर, क्रिकेटमा कस्तो प्रभाव परेको छ?
अफगानिस्तानमा भर्खरै सुरू भएको महिला क्रिकेटलाई नै एक उदाहरणको रूपमा लिन सकिन्छ। अहिले अफगानिस्तानमा महिला क्रिकेट पूर्ण रूपमा रोकिएको छ। यद्यपि, तालिवानले अन्य प्रकारका सार्वजनिक मनोरञ्जनलाई प्रतिबन्ध लगाए पनि पुरूष क्रिकेटलाई भने स्वीकार र समर्थन गरेको छ।
जब तालिवानी शासन पुनर्बहालीका प्रारम्भिक दिनहरू थिए, अफगानिस्तान क्रिकेट संघ (एसीबी) का लगभग सबै पदाधिकारीहरू देशबाट भागिसकेका थिए। महिला क्रिकेटप्रति तालिवानको रूढीवादी दृष्टिकोणका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्थायी सदस्यतालाई लिएर पनि केही प्रश्न उठेका थिए।

प्रायोजक ‘ब्याक’ हुँदा बोर्डको आम्दानी घटेको थियो। यद्यपि, विदेशी टोलीहरू अफगानिस्तान भ्रमणमा आउने क्रम जारी छ। त्यसैले अहिले युएई अफगान पुरूष क्रिकेटरहरूको दोस्रो घरमा परिणत भएको छ। तर, यी कठिनाइका बाबजुद पनि क्रिकेटको दबदबा घटेको छैन।
पूर्व छनोटकर्ता असदुल्लाह खान क्रिकेट सञ्चालनलाई सहज बनाउन एसीबीलाई केही सुझावहरू तयार गर्दैछन्। उनले भने, ‘सुरूमा अलिकति अनिश्चिततापछि हामीले अहिले क्रिकेट अझै फस्टाएको देख्यौं। खेलको लागि उत्साह र जोश बढेको छ। पैसा पक्कै आउन थालेको छ। तालिवान शासनले क्रिकेटलाई समर्थन गरेको छ। तर, प्रायोजकहरू अगाडि आउन चाहँदैनन्। आईसीसी कोष पनि अब सिधै हामी कहाँ आउँदैन। उनीहरूलाई एसीबी छ भन्ने पनि थाहा छैन।’
तालिवानको आगमनपछि अफगानिस्तानमा बैंकिङ र विदेशी मुद्रा भुक्तानीमा कठिनाइ छ। यता, आईसीसीले कोषबाट छुट्याएकोभन्दा कम रकम भुक्तानी गरिरहेको छ। जसका कारण एसीबीसँग नगदको अभाव छ। हाल, एसीबी आफ्नो कर्पोरेट र घरेलु क्रिकेट पूर्वाधारमा परिवर्तन ल्याउने कोसिस गरिरहेको छ। साथै राजधानी काबुलमा पूर्वधारहरू निर्माण गर्ने प्रयास गरिरहेको छ।

असदुल्लाहले भने, ‘अहिलेसम्म काबुल क्रिकेटको सबैभन्दा ठूलो केन्द्र बनेको छ। तर, यसलाई अझ धेरै ठाउँमा लैजानु आवश्यक छ। हामीले कान्दाहार र खोश्तजस्ता क्षेत्रमा सुविधा सुधार गर्न पहल गरेका छौं। हरमा पनि कोचिङ सुविधा हुनुपर्छ। यद्यपि, यो प्रक्रियालाई पैसा पनि चाहिन्छ।’
हाल अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीमा राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानजस्ता चर्चित खेलाडीहरू छन्। उनीहरू विश्वभरका टी–२० लिगमा सहभागिता जनाउँदै आइरहेका छन्।
कोरोना महामारीपछि राशिदले ६ लिग र ११४ टी–२० खेल खेलेका छन्। यता, नाबीले एउटै लिगमा ६३ टी–२० खेल खेलेका छन्। मुजिबको नाममा ७ प्रतियोगिता र ५८ खेल छन्। तीव्र गतिका बलर नवीन उल हकले पनि चार प्रतियोगितामा ६८ खेल खेलेका छन्।
तर, यस्तो अवस्थामा यी खेलाडीहरूले घरेलु क्रिकेटमा युवा खेलाडीसँग खेल्ने र केही सिकाउने मौका पाउँदैनन्। यी खेलाडीहरू राष्ट्रिय क्याम्पमा भाग लिँदैनन्। उनीहरू प्रायः प्रतियोगिताको समयमा मात्र राष्ट्रिय टोलीमा समावेश हुन्छन्। राशिद र नाबीजस्ता धेरै खेलाडीको बासस्थान अहिले युएईमा नै बनेको छ।
मिडल अर्डरका पूर्वब्याट्सम्यान तथा हाल राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रइस अहमदजाई भन्छन्, ‘राशिद, मुजिब र नाबीसँग युवा खेलाडीहरूलाई सिकाउने धेरै कुरा छन्। उनीहरूले विभिन्न अवस्थामा खेल्ने र तयारीको तरिका बताउन सक्छन्। यो नि: शुल्क ज्ञान हो। तर, उनीहरूलाई अफगानिस्तान जाने फुर्सद छैन।’
तर, युवा खेलाडीको विकासको बाधा कोचिङ भूमिकामा निरन्तरता नहुनु पनि हो। अफगानिस्तान क्रिकेटमा यो समस्या तालिवान शासन हुनुअघिदेखि नै छ। जोनाथन ट्रोट र उमर गुलजस्ता वर्तमान प्रशिक्षकहरू डिसेम्बर २०२२ सम्म अनुबन्धित छन्। जुनमा जिम्बाब्वे भ्रमणअघि युनिस खानले ब्याट्सम्यानसँग काम गर्न तीन हप्ता समय पाएका थिए।
ग्रीम थोर्पे अस्वस्थ भएकाले टोलीको त्यो भ्रमणमा कुनै मुख्य प्रशिक्षक थिएनन्। ट्रोटलाई आयरल्यान्ड भ्रमण र त्यसपछि एसिया कपको लागि टोलीको नेतृत्व गर्न भनिएको थियो।

सन् २०१९ देखि अफगानिस्तानको क्रिकेट टोलीले ५ जना मुख्य प्रशिक्षक पाइसकेको छ। तर, कोही पनि नयाँ खेलाडी खोज्न अफगानिस्तान जान सकेका छैनन्। उनीहरू सबैले युएईमा उपलब्ध खेलाडीहरूबाट राष्ट्रिय टोली बनाउँदै आइरहेका छन्।
अहमदजाईले भने, ‘मुख्य प्रशिक्षकका लागि अफगानिस्तानमा चलिरहेको प्रणाली बुझ्नु अत्यन्तै महत्त्वपूर्ण छ। यसले प्रत्येक खेलाडीको विकासलाई अझ राम्ररी बुझ्न र दीर्घकालीन योजनाहरू बनाउन मद्दत पुग्छ। तर, यस विषयमा निरन्तरता भने देखिएको छैन।’
अफगानिस्तानले जिम्बाब्वेमा भएको एकदिवसीय र टी–२० आई दुवै सिरिज ३–० ले जितेको थियो। तर, एसिया कपअघि आयरल्यान्डमा भएको टी–२० आई सिरिज २–३ ले गुमायो।
अहमदजाईले भने, ‘एसिया कप र टी–२० विश्वकपअघिको यस्तो नतिजा हाम्रा लागि राम्रो चेतावनी थियो। कहिलेकाहीँ ठूलो प्रतियोगिता अघि जित्छौं र त्यसपछि गति कायम राख्न असफल हुन्छौं। हामीले जित्नुपर्ने खेल हार्यौं, यो ठिक भएन। पहिलो दुई खेल हारेपछि लय समात्दै जित्यौं तर निर्णायक खेल हार्न पुग्यौं। अब हामीलाई थाहा छ एसिया कप र विश्वकपमा के गर्नुपर्छ।’
उनले थपे, ‘हामी ठूला टोलीहरूविरूद्ध राम्रो खेल्छौं। तर, महत्त्वपूर्ण चरणहरूमा नियन्त्रण गुमाउँछौं। हामी धेरै वर्षदेखि क्रिकेट खेल्दै आएका छौं र केटाहरूले भावनात्मक बन्न र गल्ती गर्नबाट जोगिनै पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।