काठमाडौं– आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा भएको खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । २९ बलमा ५८ रन बनाएका उनी रिटायर आउट भएका थिए ।
यस्तै सन्दीप जोराले ४४ रन बनाउँदा गुलशन झाले अविजित ३१, कुशल भुर्तेलले १२ र दीपेन्द्र सिंह ऐरीले अविजित ९ रन बनाउँदा लोकेश बम ५ रनमा आउट भए ।
बलिङमा क्यानडाका लागि जसकरण सिंह, सादबिन जाफर र अजयवीर हुन्डलले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोडेको थियो ।
उसका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे । श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए । १८ औं ओभरमा आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकासे । उनले यस ओभरमा दुई छक्का र एक चौका प्रहार गरे ।
त्यस्तै, कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रन जोडे । उनले तीन छक्का प्रहार गरे । निकोलक किर्तोनले १० रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे ।
नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)माथि सात विकेटको जित हात पारेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।