काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्।
आज आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत् प्रत्यक्ष श्रमिकहरुका गुनासा र जिज्ञासा सुन्दै कार्यक्रमको सुरुवात गरेका हुन्।
अबदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत् प्रत्यक्ष श्रमिकका गुनासा सुन्ने र तिनको सामाधानका लागि पहल गर्नेछन्। पहिलो दिन मन्त्री कुँवरसँग फोनमार्फत् प्रत्यक्ष रूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझाव राखेका छन्। जसलाई मन्त्री कुँवरले सम्बोधन गरेका छन्।
कार्यक्रममा विशेष गरी मलेसियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए।
उनीहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री कुँवरले मन्त्रालय श्रमिकको पक्षमा भएको जानकारी गराउँदै ऐन, कानुन बलियो बनाएर भएपनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताएका छन्।
मन्त्रालयमा कल सेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ। अहिले कल सेन्टरमा दैनिक २०० बढी गुनासा आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।
श्रमिकसँग श्रममन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावका विषयमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।