काठमाडौं– भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका सप्तरीको तोपा–कजौलीका ललितकुमार मण्डललाई उद्धार गरिएको छ।
मधेशी एकता समाजले उद्धार गरी नेपाल फिर्ता पठाएको हो। आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरले मण्डललाई गत भदौ १ गते बुधबार स्वदेश फिर्ता पठाएको बताइएको छ।
एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गत जनवरीमा दुबई लगेका थिए। तर, नेपाली एजेण्टको दुबईमा रहेको बंगाली एजेण्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए।
त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डलले गत जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए।
एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराएका थिए।
त्यसपछि समाजका यूएई उपाध्यक्ष कृष्णकुमार ठाकुरले मण्डललाई उद्धार गरेर करिब दुई हप्ता आफूसँग राखेका थिए।
आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी गत भदौ १ गते बुधबार इन्डिगो एयरलाइन्सबाट मण्डललाई उनले नेपाल फिर्ता पठाएका हुन्।
स्वदेश फर्किनेक्रममा अबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गरे। उनले भिजिट भिसामा खाडी मुलुक गए आफूजस्तै अरुले पनि दुःख पाउने भन्दै नेपाली युवालाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।