काठमाडौं– मलेसियामा रहेको अन्तर्राष्ट्रिय कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बीएसडीले शून्य लागतमा नेपाली कामदार लैजानका लागि सम्झौता गरेको छ।
माई टेक र एसेम्ब्ली एसडिएन बीएसडीले आफ्नो कम्पनीमा कामदारलाई शून्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि म्यानपावरसँग सम्झौता गरेको हो।
यी दुई कम्पनीबीच बिहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बीएसडीका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि म्यानपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बीएसडीमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट म्यानपावर कम्पनीमार्फत् शून्य लागत अर्थात एक रुपैया पनि नतिरी मलेसिया जान पाउनेछन्। मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ।
व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालिबाट पहिलो चरणमा एक हजार कामदार मलेसिया जान पाउने र केही समयमै थप एक हजार कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए।
छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए। ‘कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक रहेका छौँ’, उनले भने, ‘नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा पारिश्रमिक तथा अवसरमा कुनै विभेद हुदैन।’
रेस्पोन्सिबल विजनेश एलाइन्स (आरबीए)मा आवद्ध एच आर निर्देशक माईकल लिको मलेसियालगायतका देशमा विविध उद्योग रहेको छ। मलेसियामा मात्रै दुई उद्योग ४ प्लाण्ट रहेका छन्। यो कम्पनीमा विभिन्न देशका गरी ३ हजारभन्दा बढी श्रमिक कार्यरत छन्। एच आर निर्देशक माईकल लिले श्रमिकको आरामदायी बसोवासका लागि आफ्नै अपार्टमेन्ट रहेको जनाउँदै नेपाली कामदार इमान्दार, परिश्रमी र छिटो भाषा सिक्न सक्ने भएकाले नेपालीलाई नै पहिलो रोजाईमा परेको बताए।
यो कम्पनीमा नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५ सय मलेसियन रिङ्गेट तलबका साथै भत्ता, बोनस, ओभरटाइमका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ।
व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि म्यानपावरका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना म्यानपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए। म्यानपावरका सीईओ राजन श्रेष्ठले कामदारबाट कुनै पनि पैसा नउठाउने जनाउँदै आफ्नो म्यानपावरमा कुनै एजेण्ट वा मिडिलमेन नहुने र इथिकल रिक्रुटमेण्ट मात्र गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।