काठमाडौं– वेदोक्त वचनअनुसार ब्राह्मणले बाटो बिराउँदा संस्कारगत रुपमा अहिलेको विचलन आएकाले सुधार हुनुपर्नेमा जोड दिइएको छ।
अखिल भारतवर्षीय ब्राह्मण महासभाको कार्यकारी बैठक शुभारम्भ समारोहलाई सोमबार सम्बोधन गर्ने वक्ताहरुले वेदानुकूल कर्तव्यनिष्ठ भएर काम गर्न ब्राह्मण वर्गलाई आह्वान गरे।
पूर्वमन्त्री एवं नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले वैदिक ब्राह्मणको संरक्षणका लागि विभिन्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
फाउण्डेशनको नेतृत्वमा देशभर करिब ९० गुरुकुलमा वैदिक रुद्राभिषकसहित वैदिक ब्राह्मण जागरणका काम भइरहेको उनले जानकारी दिए।
महासभाका केन्द्रीय अध्यक्ष गोपालदत्त शर्माले तीर्थै तीर्थको देशका रुपमा रहेको नेपाललाई हिन्दू राज्यका रुपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बी लिने गरेको बताए।
महासभाका नेपाल शाखा अध्यक्ष सहप्रा डा माधवप्रसाद पाण्डेयले पराशर, व्यास, श्रृङ्गी, वाल्मीकि, विश्वमित्रलगायत ऋषिको साधना भूमि नेपाल तपोस्थलका रुपमा रहेकाले वैदिक ब्राह्मण जागरणको नेतृत्व यहीँबाट हुने प्रतिबद्धता जनाए।
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यसमेत रहेका संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलाले नेपाल भारतबीच जनस्तरसम्म सम्बन्ध विस्तार गरी दुवै देशका ब्राह्मणलाई वेदानुकूल आचरणमा ढाल्न सहकार्य हुनुपर्नेमा जोड दिए। मंगलबारसम्म चल्ने कार्यक्रममा काठमाडौं घोषणा पत्रसमेत जारी गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।