तनहुँ– तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ। महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो।
सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो। सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गरेका हुन्। सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ।
सेनेटरी प्याडका अभावमा समस्या हुँदै आएको थाहा पाएपछि सञ्जालका सदस्यबाट रकम संकलन गरी प्याड सहयोग गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिइन्।
सञ्जालले महिला मानवअधिकार संरक्षणका लागि काम गर्दै आएको छ। त्यस्तै, महिलाका अधिकार सुनिश्चित गराउनका लागि सरकारी निकायलाई ध्यानाकर्षण गराउँदै आएको सचिव तिमिल्सिनाले जानकारी दिइन्। कारागारमा हाल १२ जना महिला कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए। गत फागुनदेखि तनहुँमा महिला बन्दीगृह निर्माण गरी महिला कैदीबन्दी राख्न थालिएको छ।
महिला बन्दीगृहको क्षमता २० रहेको थियो। तनहुँमा महिला बन्दीगृह निर्माण भएपछि कास्की पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। कारागारको पुराना कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो। कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।