काठमाडौं– नवलपरासी सुस्ताकी लिलाकुमारी केवटकी सासुले घर बनाउन भनेर साहुसँग ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन्। सासुको पनि निधन भइसक्यो। तर त्यो कर्जाको भारले लिलाकुमारी र उनका पतिलाई थिचिरहेको छ।
५० हजार कर्जा लिएकोमा ३ लाखको तमसुक बनाइयो। जसका लागि एक कट्ठा तीन धुर जग्गा दृष्टिबन्धक राखिएको छ। साहुकारले अहिले ६ लाख रुपैयाँ माग्दै आएका छन्। लिला भन्छिन्, ‘सावाँँव्याज दिएको हो। न तमसुक दिएको छ, न जग्गा नै फुकुवा गरिदियो। ’
लिलाका श्रीमान सगेर केवट ४ वर्षदेखि मलेसियामा छन्। उनलाई आमाले लिएको त्यही कर्जा तिर्दैमा ठिक्क छ। ‘विदेश गएर कमाएको पैसा साहुकारको हातमा थम्याउँदैमा ठिक्क छ। घर बनाउन लिएको कर्जाले न घर बन्यो, न भएको जग्गाको लालपुर्जा नै साथमा छ,’ लिला भन्छिन्।
साहुले ६ लाख तिरे मात्र जग्गा फुकुवा गर्छु भनेर दबाब दिँदै आएका छन्। छोराछोरी माइतीमा राखेर न्यायको खोजीमा काठमाडौं आइपुगेकी उनी भन्छिन्, ‘अब कहाँबाट म ६ लाख फेरि दिऊँ?’
नवलपरासी प्रतापपुर सिलामकी आश्मा खातुनले घर बनाउन भनेर साहु सुनील बाँनियासँग ८ लाख रुपैयाँ कर्जा लिईन्। तर बनाइयो १६ लाखको तमसुक। त्यसका लागि १४ कट्ठा जग्गा दृष्टिबन्धक राखियो।
उनले हालसम्म अरु जग्गा बेचेर बाँनियालाई ३४ लाख बुझाईसकेकी छन्। तर, साहु भने अझै १४ लाख माग्दैछन्।
प्रतापपुर पच्पेडाकी तिलेस्रादेवीले छोरालाई विदेश पठाउन साहु जगदिश बाँनियासँग १ लाख रुपैयाँ कर्जा लिईन्। आम्दानीको स्रोत कृषिबाहेक केही छैन। परिवार ठूलो छ, पाल्नै पर्यो। श्रीमान्लाई प्रेसरको औषधि खुवाइराख्नुपर्छ। त्यही भएर एकमात्र छोरालाई साउदी पठाउन कर्जा लिनुको विकल्प थिएन।
उनले साहुसँग १ लाख रुपैयाँ लिए पनि एक पटक १० लाख र एक पटक ७ लाख बुझाइसकिन्। छोराले तीन वर्ष विदेशमा बसेर कमाएको सबै पैसा साहुलाई तिर्दैमा सकियो। तर साहुले उनको जग्गा अझै फुकुवा गर्न मानेका छैनन्।
भन्छिन्, ‘छोरा विदेश गएर कमाएको सबै पैसा साहुलाई दिँदा पनि जग्गा फुकुवा भएन।’
बर्दघाट गंगावस्तिका कुलबहादुर थापा २०७२ सालमा वैदेशिक रोजगारीमा साउदी अरबमा थिए। बस्नका लागि कम्तीमा एउटा राम्रो घर बनाउने सल्लाह भयो। छोरा विदेश गएको बेला सजिलो होला भनेर आमाबुबा र श्रीमतीले घर बनाउनका लागि ४ लाख कर्जा लिए स्थानीय लालबहादुर खड्कासँग।
४ लाख ऋणको तमसुक ७ लाखको बनाइयो। ७ कट्ठा जग्गा दृष्टिबन्धक राखियो। उनले अहिलेसम्म सबै सावाँब्याज तिरिसके। तर, जग्गाको लालपुर्जा भने साहुकार लालबहादुरसँगै छ।
१० धुर जग्गा कुलबहादुरका आमाबुवाले साहु लालबहादुरसँग नै लिएका थिए। काठमाडौंमा स्थायी बसोबास गर्ने लालबहादुरले बर्दघाटमा जग्गा प्लटिङ्गको काम गर्दै आएका छन्। उनले १७ लाख पैसा दिए मात्र जग्गा फुकुवा र तमसुक फिर्ता हुन्छ नत्र जग्गा लिलाम गर्छु भन्दै धम्क्याउन थाले। र, जग्गा रामग्रामका अखिलेश अग्रहरीलाई लिलाम गरिदिए।
कुलबहादुर भन्छन्, ‘जग्गा पनि उसैको, कर्जा पनि उसैको अन्तिममा उसैसँग किनेको जग्गा नै फुकुवा गरिदिएन।’
बर्दघाटका कर्णसिंह थापामगरको कथा पनि उस्तै छ।
कर्णसिंहका दाजुभाइ मिलेर ४ लाख कर्जा उनै साहु लालबहादुर खड्कासँग लिए। ४ लाख लिएकोमा ९ लाखको तमसुक बनाईयो। सबै पैसा चुक्ता गरिसकेका छन्। तर दृष्टिबन्धक राखिएको उनको र उनका दाइको ९–९ कट्ठा जग्गा फुकुवा गरिएको छैन।
उनीहरुले पनि वैदेशिक रोजगारीका लागि कर्जा लिएका हुन्। कर्णसिंह भन्छन्, ‘घर फर्किँदा न पैसा छ, न जग्गा।’
सुस्ता सिमेरीका जयप्रकाश कुर्मीले २०७१ मा छोरा सञ्जितलाई वैैदेशिक रोजगारीका पठाउन साहु सुनिल बाँनियासँग १ लाख रुपैयाँ कर्जा लिए।
उनको २ लाखको तमसुक बनाईयो, जसका लागि ४ कट्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखियो। उनले ५ लाख ५ हजार रुपैयाँ बुझाइसकेका छन्। तर, पनि साहु अझै ८ लाख माग्दैछन्। त्यति नदिए जग्गा फुकुवा नगर्ने भन्दै धम्की दिइरहेका छन्।
प्रतापपुरका मोहरलाल यादवले छोरीको विवाहका लागि भनेर साहुसँग ८ लाख रुपैयाँ कर्जा लिए। अहिले त्यही कर्जाले पिरोलिएर उनी श्रीमती सुनितासहित न्यायका लागि काठमाडौंमा उत्रिए।
माइतीघर मण्डलामा भेटिएका उनीहरुमध्ये लक्ष्मी आफ्ना पीडा भन्न अघि सरिन्। ‘तराईमा थोरै दाईजोले विवाह हुँदैन। छोरी घरमै राख्न भएन, विवाह गरेर पठाउनै पर्यो,’ कर्जा लिनुको बाध्यता उनले सुनाइन्।
यादव दम्पतीले साहु सुनिल बाँनियासँग ४ लाख कर्जा लिए। ४ लाख कर्जाको तमसुक ८ लाखको बनाइयो। तर मोहरलालले पटक–पटक गरेर ९ लाख ५० हजार रुपैयाँ बुझाईसके। तर, साहुले २५ लाखको हिसाब निकालेका छन्। यहीकारण जग्गा फुकुवा भएको छैन।
यादव दम्पतीको पीडा कतिसम्म छ भने जसका लागि उनीहरुले कर्जा निकालेका थिए। त्यो सबै व्यर्थ भएर गएको छ।
छोरी सुनिताको कोभिडका कारण मृत्यु भइसकेको छ। ‘नातिनातिनालाई पालेर बसेका छौं। न छोरी रहि, न जग्गा रह्यो। उल्टै पैसा माग्दैछ साहुले। कहाँबाट तिर्नु? कमाइ छैन। घरमा दरिलो आधार दिने पनि कोही छैन,’ लक्ष्मीले छोरी सम्झँदै भनिन्।
नवलपरासीमा मिटर ब्याज साहुको जञ्जालमा फसेका किसानको कथा लगभग उस्तै छ–लिएको कर्जाभन्दा बढीको तमसुक बनाइएको छ। जीवनभर तिर्दा पनि कर्जा सकिँदैन। अझै अरु पैसा माग्दैछन् साहुहरु। किसानले नसक्दा आफ्ना जमिनको अधिकारबाट समेत वञ्चित भइरहेका छन्।
सुस्तामा मात्र यसरी ठगिएका ५०० जना छन्। नवलपरासीभर नै यसरी ठगिनेको संख्या ५ हजार रहेको आकलन छ।
धेरै जनाले वैदेशिक रोजगारका लागि ऋण लिएका छन् भने केहीले विवाह गर्न र घर बनाउन। तर, मिटर ब्याजका कारण जति तिर्दा पनि नसकिने ऋणको भारीले थिचिइरहेका छन्।
यहीकारण न्यायको खोजीमा पीडितहरु काठमाडौं पसेका छन्।
तस्बीरहरु– मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।