काठमाडौं– लागु औषध अपराधको ग्राफ भयवाह बन्दै गएको छ। प्रहरी प्रधान कार्यालयले गत वर्षको तीन महिना (वैशाख, जेठ, असार) र २०७९ को तीन महिना (वैशाख, जेठ, असार) को तुलना गर्दा लागु औषध अपराधको ग्राफ उकालो लाग्दो अवस्थामा देखिन्छ।
गत वर्षको वैशाख, जेठ र असारमा ६६९ वटा लागु औषधको मुद्दा दर्ता भएकोमा २०७९ को वैशाख, जेठ, असारमा मुद्दाको संख्या १ हजार ३२ पुगेको छ। गत वर्षको तीन महिनाको तुलनामा अहिलेको यो दर ५४ दशमलव २६ प्रतिशतले बढी हो।
यस्तै अघिल्लो वर्षको तीन महिनामा ३ हजार १०१ किलो गाँजा बरामद भएकोमा यो वर्षको तीन महिनामा भने ४ हजार १८१ किलो किलो बरामद भएको छ। गाँजा बरामदमा पनि ३४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
गत वर्षको तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा चरेश बरामद पनि १८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। हेरोइन बरामदमा ४ हजार २४० प्रतिशतले वृद्धि भएको छ।
प्रहरीका अनुसार गत वर्षको तीन महिनामा १ किलो ५५ ग्राम हेरोइन बरामद भएकोमा अहिलेको तीन महिनामा ६७ किलो २८ ग्राम हेरोइन बरामद भएको छ।
यस्तै गत वर्षको तीन महिनामा १ हजार ४५ जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको थियो भने अहिलेको तीन महिनामा त्यो संख्या बढेर १ हजार ५६६ पुगेको छ। लागु औषधसहित मानिस पक्राउको संख्यामा ४९ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।