काठमाडौं– आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष हुनेमा ढुक्क रहन प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले आग्रह गरेका छन्।
बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै आईजी सिंहले निष्पक्षरुपमा निर्वाचन सम्पन्न गराउनु प्रहरीको दायित्व भएकाले उक्त दायित्व व्यवसायिक ढंकले पूरा गर्ने प्रतिबद्धता जनाए।
सत्ता गठबन्धनका कारण आउँदो मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष हुनेमा संसय पैदा गर्दै पत्रकारले सोधिएको प्रश्नमा आईजी सिंहले भने, ‘ढुक्क हुनुस्, चुनाव निष्पक्ष रुपमा सम्पन्न हुन्छ। कुनै प्रहरी कर्मचारीले वायस भएर काम गरे त्यस्ता कर्मचारीलाई कारहीबाही हुन्छ।’
यसअघिको स्थानीय निर्वाचनसमेत निष्पक्ष ढंगबाट सम्पन्न भएकाले आउँदो निर्वाचन पनि निष्पक्ष हुने दाबी सिंहको थियो।
स्थानीय चुनावका बेला अनुगमनमा खटिएका विभिन्न ८४ वटा संघ–संस्थालेसमेत निष्पक्ष तथा शान्तिपूर्ण रुपमा निर्वाचन भएको भन्ने रिपोर्ट दिएको आईजी सिंहले बताए।
सुरक्षित र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गराउने प्रहरी प्रधान कार्यालयले एआईजीको कमाण्डमा केन्द्रीय सुरक्षा सेलको गठन गरिसकेको पनि सिंहले बताए। हेडक्वाटर कार्य विभागका एआईजी सहकुलबहादुर थापाको कमाण्डमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ।
सोही अनरुप प्रदेश निर्वाचन सेल, जिल्ला निर्वाचन सेलसमेत गठन गरेर धमाधम काम सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
निर्वाचन सेलहरुले कसरी सुरक्षित र निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गराउन सकिन्छ भन्नेबारे पनि अध्ययन गरेर तालुक कार्यालयहरुमा पठाउनका लागि गृहकार्यसमेत गरिसकेको आईजी सिंहले बताए।
स्थानीय निर्वाचनभन्दा बढी म्यादी प्रहरी आवश्यक
गत बैशाखमा भएको स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरेको प्रहरी प्रधान कार्यालयले आउँदो मंसिरमा हुने निर्वाचनका लागि भने त्योभन्दा बढी म्यादी प्रहरी आवश्यक रहेको भन्दै गृहमन्त्रालयलाई रिपोर्ट गरिसकेको छ।
आउँदो निर्वाचनमा प्रदेश र प्रतिनिधिसभाका एकैपटक मतदान गर्नुपर्ने र बुथहरु पनि धेरै हुनेहुँदा म्यादी प्रहरीको संख्यासमेत बढाउनुपर्ने भन्दै गृहलाई रिपोर्ट पेस गरेको छ।
हेडक्वाटरले १ लाख २० हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने भन्दै रिपोर्ट पेस गरिएको हेडक्वाटरले जनाएको छ।
म्यादी प्रहरी भर्नासँगै आवश्यक पर्ने अन्य बन्दोबस्तीका सामानहरु र अनुमानित खर्चको विवरण पेस गरिएको र उक्त विवरण मन्त्रालयमा अहिले छलफलकै क्रममा रहेको आईजी सिंहले बताए।
आउँदा निर्वाचनमा म्यादी प्रहरीको भर्ना गर्दा गत निर्वाचनमा म्यादी प्रहरी भएर काम गरिसकेकालाई विशेष प्राथमिकता दिनेसमेत तयारी भएको सिंहको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।