काठमाडौं– बझाङमा आमा र छोरा–छोरी गरी ३ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्।
रारुका २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीय छोरा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रमेश अवस्थीले जानकारी दिए।
बुधबार बिहान शव भेटिएको भन्ने खबर आएसँगै जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थल सदरमुकामबाट ७० किलोमिटरभन्दा टाढा रहेको र गाडीबाट गएपछि पनि ३ घण्टा पैदल हिँड्नुपर्ने भएकाले सदरमुकामबाट गएको प्रहरी टोली अहिलेसम्म घटनास्थल पुग्न नसकेको इन्सपेक्टर अवस्थीले बताए।
मृत फेला परेकी गीताका श्रीमान् भने भर्खरै भारतबाट आएको बुझिएको प्रहरी निरीक्षक अवस्थीले बताए। घटना के कसरी भयो, हत्या हो वा आत्महत्या हो भन्ने अहिलेसम्म केही नखुलेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।