काठमाडौ– प्रहरीले तीन जनालाई ७४ लाख रुपैयाँसहित पक्राउ गरेको छ। हुण्डी कारोबार हुने गरेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा भारतको राजस्थान शिखर जिल्ला देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का २० वर्षीय रामहरि दुलाल र रौतहटको चन्द्रपुर नगरपालिका–४ का २४ वर्षीय सुदीप आचार्य छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं नरदेवीबाट पक्राउ गरेको हो। त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको चेक पनि बरामद भएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।