काठमाडौं – राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध स्रोत नखुलेको नेपाली रुपैयाँ ६९ लाख ९९ हजार रूपैयाँ विदेशी मुद्रा अपचलन अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
अभियोग पत्र दायर गरिएकामा नुवाकोट ककनी-३ का नवराज ढुंगाना, सोही स्थानका फणिन्द्रप्रसाद ढुंगाना, नुवाकोटका भीरकोटगढी- ११ निवासी सुवासजङ्ग पाण्डे र ककनी-३ का प्रज्वल ढुंगाना रहेका छन्।
उनीहरु मध्य विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाडौंको संयुक्त टोलीले नवराज ढुङ्गानालाई पक्राउ गरेको थियो।
प्रहरीले अनुसन्धान गर्ने क्रममा उनी अवैध हुण्डी कारोवारमा संलग्न भएको पाइएको छ। उनले ६९ लाख ९९ हजार रुपैयाँ जापानमा रहेका भनिएका प्रज्वल ढुंङगानाले सुवास जङग पाण्डेलाई भने अनुसार पाण्डेले नवराज र फणिन्द्रलाई उक्त रकम उपलब्ध गराएको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
‘अनुसन्धानका क्रममा प्रतिवादीहरूले बरामदीत रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र लिएको छैन’ विभागले विज्ञप्तिमा भनेको छ,‘प्रतिवादीहरूले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखि बरामद भएको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्राको अवैध कारोवार गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१), ५, ९ग(ग) तथा १२ विपरितको कसूर गरेको देखिएको छ।’
विदेशी विनिमय विपरितको कसूर अपराध गरेकोले उक्त रकम जफत गरी पाउने माग दाबी लिई अभियोगपत्र दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।