काठमाडौं–स्थानीय तह निर्वाचनका बेला सिन्धुपाल्चोकका कांग्रेस नेता धनबहादुर कार्की (बलराम) को अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अपहरणमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का चाइनिज भनिने रमेश लामा पक्राउ परेका हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी भरतबहादुर बोहराले जानकारी दिए।
अपहरणमा सुनकोशी गाउँपालिकाका एमाले र कांग्रेस कार्यकर्ता संलग्न भएको भनी प्रहरीमा उजुरी परेको थियो। त्यसपछि रमेश लामासहित सुनकोशी ५ का अमर लामा, सुनकोशी ६ का दिनेश थापा र उमेश खड्काविरुद्ध अपहरण तथा शरीरबन्धकको आरोपमा पक्राउ पुर्जी जारी भएको थियो।
के थियो अपहरण घटना?
कांग्रेस नेता कार्की गत वैशाख २६ गते सुनकोशी ६ थुम्पाखरबाट काभ्रेको पाँचखाल जाँदै थिए। उनी सुकुटेमा चिया नास्ता खाइरहेका बेला रमेश लामासहित १५ जनाको समूहले अपहरण गरेर आफ्नै गाडीमा राखे। त्यसपछि आँखामा पट्टी बाँधेर १ घण्टाको कच्ची बाटो हुँदै सुनकोशी ७ स्थित सदाबहार एकेडमीमा लगेर राखे ।
अपहरणका क्रममा आफ्नो ९७ हजार रुपैयाँ पनि लुटिएको कार्कीको दाबी थियो। अपहरणको सूचना प्रहरीले पाएपछि प्रहरी टोली पुगेर कार्कीको उद्दार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।