काठमाडौं– बालाजु क्षेत्रमा हिँड्दै गरेकी महिला दिउँसै लुटिएकी छिन्। लुटपाटको आरोपमा करिब एक महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ का २५ वर्षीय सागर दर्जी र काठमाडौं तारकेश्वर नगरपालिका–९ का १९ वर्षीय अमीर महर्जन छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन २० गते मनमैजु र बानियाँटारबाट पक्राउ गरेको हो।
उनीहरुले गत असार २९ गते बालाजु कुमारीस्थित सडकमा हिँड्दै गरेकी गायत्री ढकाललाई दिउँसै पौने १ बजे लुटपाट गरेका थिए। रातो रंगको मोटरसाइकलमा आएका उनीहरुले ढकाललाई धम्की दिँदै उनको झोलामा रहेको नगद, मोबाइल तथा अन्य महत्वपूर्ण कागजात लुटेका थिए।
फरार लुटेराहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा बुझाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ परेका दुई जनाबाट ५५१ ग्राम गाँजाको धुलो समेत बरामद भएको छ। लुटपाट गर्न प्रयोग गरिएको खुकुरी र लुटिएको मोबाइलसमेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।