काठमाडौं– काठमाडौं उपत्यकामा आइतबारदेखि ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उपस्थितिमा आइतबार एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो।
नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनका लागि आइतबारदिख पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन्।
हर्नले ध्वनी प्रदूषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौं महानगर प्रमुख शाहले बताए।
काठमाडौं उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागू गरिएको थियो। जस अनुसार अत्यावश्यक पर्दाबाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।