फाइल तस्बिर।
लमजुङ– अविरल वर्षापछि आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ।
डुम्रे–बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा र मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा आएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको हो।
वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
उनका अनुसार पहिरोले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ। यही साउन ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो।
सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन्। यस सडक ४२ किलोमिटर दूरीको छ।
त्यस्तै, लमजुङबाट मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत रामबजारमा पहिरोले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन। सडक माथिबाट ठूला ढुङ्गामाटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।