इटहरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरामा लक्ष्मण बिकले सञ्चालन गर्दै आएको औलिया ज्वलर्स (गहना पसल)बाट सुनचाँदी चोरी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ चतराकै २६ वर्षीय अनिल बराइली छन्।
बिहीबार राति गहना पसल रहेको १ तले घरको पछाडिको ढोकाको कब्जा फुटाइ लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको भन्दै सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली परिचालन भएको थियो।
घटनाको सुक्ष्म अनुसन्धान गरेर चोरी भएको २४ घण्टा नबित्दै शुक्रबार दिउँसो साढे २ बजे चोरीमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अनुसन्धान गर्ने क्रममा शंकास्पद देखिएका अनिलको घरकोठा भित्र खानतलासी गर्दा दराज पछाडि कालो झोलामा लुकाइएर राखिएको अवस्थामा ६ तोला ८३ लाख बराबरको चोरीको सुनका गरगहना र २९७ तोलाको चाँदीको गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले अनिलको साथबाट बरामद भएको सुन तथा चाँदीको गहनाको बजारमूल्य १० लाख ४० हजार ५९० बराबर हुन आउने जनाएको छ।
चोरीका गहनासँगै पक्राउ परेका अनिलविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।