महोत्तरी– स्थानीय तहमा बेरुजु कहालीलाग्दो छ। महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उनीमाथि सो बेरुजु देखिएको हो।
आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखि उनी सो नगरपालिकामा कार्यरत छन्। २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७/७८ सम्म १२ करोड बेरुजु नाघेको हो।
उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने ६ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै ६ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ।
कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७/७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६/७७) को ४३ करोड तीन लाख ६१ हजार कूल बेरुजु बाँकी देखिएको थियो।
पछिल्लो आव २०७७/७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।