मलेसिया भ्रमणका क्रममा त्यहाँका सभामुख देवान राक्यातसँग भेट गर्दै पेलोसी।
काठमाडौं–अमेरिकी संसद हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानि ताइपेइ पुगेकी छन्।
हिन्द प्रशान्त क्षेत्रको भ्रमणमा निस्केकी सभामुख पेलोसी मलेसियाको भ्रमणपछि मंगलबार साँझ ताइपेइ पुगेकी हुन्। त्यसअघि उनी सिंगापुर पुगेकी थिइन्।
पेलोसीको यो भ्रमणलाई चीनले चर्को विरोध जनाएको छ। मंगलबार बिहान मात्र चिनियाँ विदेश मन्त्रालयले यो भ्रमणको विरोध गर्दै यसले विनाशकारी परिणाम ल्याउने चेतावनी दिएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार पेलोसीले ताइवानका राष्ट्रपतिसँग बुधबार भेट गर्ने कार्यक्रम छ।
चीनले ताइवानलाई स्वतन्त्र राज्यको मान्यता दिएको छैन। उता अमेरिका चीनको उक्त धारणाको विरूद्वमा छ।
पेलोसीको भ्रमणको विरोध गरेको चीनले ताइवानको सीमा क्षेत्रमा सुरक्षा तथा सैन्य गतिविधि बढाएको छ। यसले अन्तर्राष्ट्रिय क्षेत्रमा चिन्ता बढाएको छ।
पेलोसीले चीनको मानवअधिकार र त्यहाँका अल्पसंख्यक समुदायलाई चिनियाँ संस्थापनले गरेको अत्यचारका विरूद्ध निरन्तर आवाज उठाउँदै आएकी छन्।
यता, ताइपेइ विमानस्थलबाहिर हजारौं ताइवानी उनको स्वागतमा पुगेका छन्। ताइवानका विदेशमन्त्री पनि सभामुख पेलोसीको स्वागतमा विमानस्थल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।