काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली पदमसालमा मृत फेला परेका ४ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। प्रहरीले घटनास्थलको अनुसन्धान, मुचुल्का सकेर शव परीक्षणका लागि अस्पताल लगिएको छ।
सुरुमा शव उठाउन स्थानीय र मृत फेला परेकी महिला सुनिता काप्री पाण्डेका माइती पक्षले अवरोध गरेको थियो। घटनाको अवस्थाबारे जानकारी गराएर शव उठाइएको प्रहरीले जानकारी दिएको छ।
तारकेश्वर–२ पदमसाल बस्दै आएकी १३ वर्षीया आशिका पाण्डे नियमितजस्तै सोमबार विधालय जानका लागि बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए। घरमा बोलाउँदा समेत कसैको आवाज नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए।
प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको भिमसेन गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृत फेला परेका थिए।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानबाट दिनेशले नै श्रीमती तथा छोराछोरीको हत्या गरेर पछि आफूले आत्महत्या गरेको देखिएको जनाएको छ।
स्थानीयबासी र सुनिताका माइती पक्षले भने उनीहरु सबैको हत्या भएको भन्दै नाराबाजी गरेका छन्। स्थानीयको नाराबाजी जारी राखेपछि सुरक्षा व्यवस्था कायम राख्न प्रहरीको थप टोली समेत घटनास्थलमा परिचालन गरिएको छ।
स्थानीयका अनुसार दिनेश र श्रीमती सुनिताबीच यसअघि पनि विवाद तथा झगडा हुने गरेको थियो। उनीहरुको झगडाको केस प्रहरी वृत्त बालाजुसम्म पुगेको प्रहरीले जनाएको छ।
श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेका कारण सुनिताको माइती पक्षले उनलाई बेलायत पठाउन खोजेको थियो। सुनिता बेलायत जाने तयारीमा समेत थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।