काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिएको घटनामा ‘पारिवारिक कलह’ प्रमुख कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
सोमबार बिहान काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेका थिए। गोरखाको भीमसेन थापा गाउँपालिका घर भइ काभ्रेस्थलीको पदमसाल बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत फेला परेका थिए।
दिनेशकी श्रीमती सुनितासहित ११ वर्षीय आशिक र ७ वर्षीया आशिकाको शव एउटै कोठामा विभत्स अवस्थामा फेला परेको थियो। आशिक र आशिकाको शव खाटमा र सुनिताको शव भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनी सबैको शरीरमा धारिलो वस्तु (हतियार)ले प्रहार गरेको चोट देखिएको छ।
दिनेशको शव भने घाँटीमा डोरी (तार)ले कसेको अवस्थामा भेटिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानबाट दिनेशले सुरुमा धारिलो हतियार प्रहार गरी श्रीमती र छोरा–छोरीको हत्या गरी आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको भनाइ छ। यद्यपि, घटनाको अनुसन्धान भइरहेकाले यकिन कारण भने पत्ता लागिनसकेको एसपी कोइरालाको भनाइ छ।
अर्धनग्न अवस्थामा शव रहेको र शरीरका विभिन्न भागहरुमा चोट समेत लागेकाले हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ।
दिनेशको पनि शरीरका विभिन्न भागमा चोट लागेको र घाँटीमा तारले बाँधेको अवस्थामा शव भेटिएको छ।
प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ। तर, उक्त सुसाइड नोटमा के उल्लेख छ भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन।
पारिवारिक विवादका कारण हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आकलन छ। प्रहरीका अनुसार दिनेश र उनकी श्रीमती सुनिताबीच यसअघि पनि पटक–पटक झगडा हुने गरेको थियो।
दुई जनाबीच भएको झगडाको प्रकरण प्रहरीसम्म पनि पुगेको थियो। त्यतिबेला उनीहरुको घटना प्रहरी वृत्त बालाजुसम्म पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।