काठमाडौं– बलिउडका सुपरस्टार तथा सदाबहार अभिनेता अमिताभ बच्चनको जीवनमा थुप्रै किस्साहरु छन्। बलिउडमा आधा शताब्दीभन्दा लामो समय बिताइसकेका उनले यो अवधिमा काम गरेका फिल्मको छायांकनमा भएका यस्ता किस्साहरुको रोचकता निकै फरक छ।
आज हामी त्यस्तै एउटा रोचक किस्साको बारेमा यहाँ उल्लेख गर्दै छौं।
फिल्म थियो, ‘खुन पसिना’। सन् १९७७ मा प्रदर्शनमा आएको यो एक्सन कमेडी फिल्मलाई राकेश कुमारले निर्देशन गरेका थिए। फिल्ममा अभिताभले शिभाको भूमिका निभाएका थिए।
यदि तपाईंले यो फिल्म हेर्नु भएको छ भने तपाईंलाई त्यो दृश्य याद होला, जहाँ अभिनेत्री रेखा अमिताभलाई बाघलाई पिञ्जराबाट निकालेर उसँग भिडन्त गरेर पुनः उसलाई पिञ्जरामै बन्द गर्न भन्छिन्।
तपाईंलाई लाग्ला, यो दृश्यलाई कुनै प्रविधि वा बाघको भेषमा कुनै व्यक्तिलाई राखेर खिचिएको थियो।
तर, त्यसो होइन्। यो दृश्यका लागि अभिताभले साँच्चैको बाघसँग लडाईं गरेका थिए।
त्यो बेला अहिलेको जस्तो स्पेशल इफेक्ट र सिजिआई थिएन्। त्यसैले, अमिताभले वास्तविक बाघसँग लडाई गर्नु परेको थियो।
फिल्मको यो दृश्यका लागि अमिताभ साँच्चैको बाघको बीचमा गएका थिए। अभिताभले केही समयअघि यो दृश्यबारे सम्झिदैं ट्विटमा लेखेका थिए, ‘त्यो दिन जब ‘खुन पसिना’ फिल्मको पोशाक विभागबाट मलाई ज्याकेट लगाउन भनियो, तब मलाई वास्तविक बाघसँग लड्नु छ भन्ने थाहै थिएन्। यो फिल्म ४५ वर्ष पूरा भएको छ। वास्तविक बाघसँग लड्नु आफैंमा एउटा काम थियो।’
अमिताभले मुम्बईस्थित चंदीवाली स्टुडियोमा छायांकन भएको यो फिल्ममा अभिनय गर्दा बाघसँगको लडाईं निकै गाह्रो रहेको बताएका छन्। उनले बाघसँग गरेको लडाईंलाई कहिल्यै नभुल्ने बताएका छन्। उनले लेखेका थिए, ‘म आजका मेरा स्टन्ट निर्देशकलाई यो भन्दा उनीहरु मलाई त्यो बेला साँच्चै पागल भएको ठान्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।