काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिन नसकिने बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्।
उनले विद्युत् प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारे।
निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने बताए। पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको उनको भनाइ छ।
निर्देशक घिसिङले प्रशारण लाइनको लागत कम गर्नुपर्ने भनाइ राखे। विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत् प्राधिकरणले करिव १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने जानकारी गराए। गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत् निर्यात गरेको थियो।
यस्तै उनले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत् क्षमता दिन नसकेको विषय गलत भएको बताए। अहिले सबै उद्योगमा शतप्रतिशत क्षमतमा विद्युत् दिइएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।