काठमाडौं–काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा विभिन्न सामान डकैती गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले यही साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोल्दा तीन जना एक्कासी प्रवेश गरी डकैती गरेको प्रहरीले जनाएको छ।
तीन जना अचानक प्रवेश गरी लिम्बुलाई हातखुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डाँकी गरी फरार भएको भन्ने सूचना आएपछि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो।
त्यसक्रममा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन्। श्रेष्ठले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ।
उनीहरुलाई प्रहरीले कपन, जोरपाटी र माकलबारीलगायतका स्थानबाट पक्राउ गरेको थियो।
उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।