काठमाडौं– श्रीमान्ले साउदी अरबबाट पठाएको पैसा बैंकबाट निकालेर घर जाँदैगर्दा धनुषामा एक महिला लुटिएकी छिन्। साउन ९ गते दिउँसो २ बजे जनकपुर उपमहानगरपालिका–१ स्थित मिल्स एरियामा २८ वर्षीया शर्मिलादेवी यादव लुटिएकी हुन्।
साउदी अरबमा रहेका श्रीमान् देवशरण यादवले पठाएको २ लाख रुपैयाँ बैंकबाट निकालेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले लुटेका थिए।
शर्मिलाले २ लाखसहित मोबाइलसमेत प्लाष्टिकको झोलामा हालेर हातमा बोकेर हिँडेकी थिइन्। सोही बेला मोटरसाइकलमा आएका दुई जनाले उनको हातको प्लाष्टिकको झोला नै लुटेर फरार भएको थिए।
२ लाख लुटेर फरार भएका धनुषाको लक्ष्मनिया गाउँपालिका–७ भगवतीपुरका २१ वर्षीय दीपेन्द्र मण्डल र २० वर्षीय जितेन्द्र साहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
लुटेर फरार भएको जानकारी पाएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले प्रदेश २–०२–००५ प ००८५ नम्बरको मोटरसाइकल लुटेराले प्रयोग गरेको खुलेको थियो।
चालकले रातो सर्ट, सेता रंगको पाइन्ट, चप्पल लगाएको र उनको पछाडि बस्नेले कालो टिसर्ट, कालो पाइन्ट र सेता जुत्ता लगाएको खुलेको थियो। यीनै हुलियालाई आधार बनाएर खोजीमा जुटेको प्रहरीले उक्त मोटरसाइकल धनुषाको लक्ष्मनीया गाउँपालिका–७ का कृष्णप्रसाद साहको नाममा रहेको पत्ता लगायो।
सोही आधारमा कृष्णप्रसादको घरमा खानतलासी गर्दा पलङको घर्रामा लुकाएर राखेको ५४ हजार प्रहरीले भेटायो। लुटिसकेपछि घरमै लुकेर बसेका कृष्णप्रसादका भाइ जितेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो।
उनैसँग सोधपुछ गरेपछि लुटपाटमा संलग्न अर्का व्यक्ति दीपेन्द्र रहेको खुल्यो। दीपेन्द्रलाई पनि उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो। दीपेन्द्रबाट ७८ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ।
उक्त रकम र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर प्रहरीले दुई जनालाई चोरीको कसूरमा अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।