तनहुँ- तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो।
सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए। ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए। दुर्घटनामा ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए।
आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन्। आव २०७६/७७ मा ४४ तथा आव २०७५/७६ मा ६० जनाको सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो। सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए। 'तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ', नेपालले भने, 'युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।